बाल सङ्गठनका पदाधिकारीहरुको सदाचारमाथि सांसदहरुको औंला

नेपाल बाल सङ्गठनको देशभरका पदाधिकारीहरुको सदाचारितामाथि प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले प्रश्न उठाएको छ ।

समितिले नेपाल बाल सङ्गठनको नक्सालस्थित बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनका पदाधिकारीको सदाचारितामा खोट देखाएको हो । समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्लास्तरसम्मका संरचनामा देखिएको अव्यवस्था,अपारदर्शी भाडा सम्झौता,पर्याप्त चलअचल सम्पत्ति हुँदा पनि निर्वाहमुखी अवस्थाप्रति समस्या देखिएको हो ।

पालले आजको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताउनुभयो ।

प्रतिवेदनमा बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिइएको छ ।

पारित प्रतिवेदनमा मुख्य गरी सङ्गठनको चल अचल सम्पत्तिको तथ्याङ्क राख्नुपर्ने,दुराशयपूर्ण सम्झौताहरुको पुनर्मूल्याङ्कन गर्नुपर्ने,बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिइएको छ ।

टिप्पणीहरू