नजिकको तीर्थ हेला

नजिकको तीर्थ हेला

बाँकेको सदरमुकाम नेपालगन्जबाट झण्डै ५० किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा रहेको गोवद्र्घन धाम धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र को रूपमा रहेको छ । प्राकतिक सौन्दर्य र मनोरम सो स्थल विगतका दिनमा बाँके जिल्लाको दुर्गम गाउँपालिकाको रूपमा नरैनापुर गाउँपालिका परिचित भएकै कारण हालसम्म पनि ओझेलमा परेको छ ।

तीव्र तवरले सहरीकरण भइरहेको नेपालगन्जबाट नजिकै भए पनि त्यसको आवश्यक प्रचार प्रसार नहँुदा सो क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्न सकेको छैन । अधिकांश तराई भूभाग रहेको बाँकेमा सो स्थल भने चारैतिर जंगलले घेरिएको पहाडको टाकुरामा अवस्थित छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ४ मटेहियाबाट करिब १ घण्टाको उकालो जंगलको यात्रापछि गोर्वद्धन मन्दिरको दर्शन गर्न सकिन्छ । नरैनापुर गाउँपालिकाभित्र रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदामध्येको एक गोवद्र्घन मन्दिर आवश्यक संरक्षण तथा प्रचार प्रसार गर्न नसक्दा नजिकको तीर्थ हेला जस्तै भएको छ ।

आज भन्दा ४० वर्ष पुरानो इतिहास बोकेको सो मन्दिर स्थानीय निकायसँगै सरोकारवालाहरुको ध्यान त्यसको संरक्षण तथा सम्बद्र्ध तर्फ पुग्न नसकेका कारण ओझेलमा पर्दै आएको स्थानीयहरु बताउँछन् । जानकारी अनुसार, नरैनापुरकै स्थानीय मेवादास नाम गरेका एक जना बाबाले वृक्षमुनि आश्रम राखी बस्ने इच्छा प्रकट गरी बसेको र पछि बाबा बसेको स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ ।

घनघोर जंगल तथा मानवीय बस्तीबाट निकै टाढा रहेको सो मन्दिरको संरक्षण विगत १३ वर्षदेखि बजरंग दास बाबाले गरिरहेका छन् । उनका अनुसार बस्ती स्तरबाट टाढा एकान्त स्थानमा मन्दिर बनाउँदा मनलाई शान्ति मिल्ने सोचका साथ एउटा ढुंगामा मूर्ति राखेर पुजा, आजा शुरु गरिएको थियो । पछि विस्तारै सो स्थानमा मन्दिर निर्माण गरिएको बताईन्छ ।

हाल सो मन्दिरमा एउटा पक्की मन्दिरसँगै पुजारी बस्ने कोठा तथा हवन गर्ने सहितको पक्की घर निर्माण गरिएको छ । उक्त मन्दिरदेखि करिब ८ किलोमिटको दूरी सम्म मानिसको बस्ती छैन । जंगलको एकान्त स्थानमा रहेको सो मन्दिरको सम्पूर्ण रेखदेख तथा व्यवस्थापन पुजारी (बाबा) ले गर्दै आएका छन् । पछिल्लो समय आम नागरिकहरुको आस्था सो स्थलप्रति बढ्दै गएपछि मन्दिर दर्शन गर्नेको संख्या बढ्दै गएको पुजारीले बताए ।

तराईको फाँटदेखि पहाडी डाँडामा चढेर मात्रै दर्शन गर्न पाइने सो मन्दिर जिल्लाकै पर्यटकीय सम्भावना बोकेको भए पनि त्यसको संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसार हुन नसक्दा सीमित व्यक्ति तथा श्रद्धालुहरुको दर्शन स्थलको रूपमा रहेको छ । नरैनापुर गाउँपालिका अन्तर्गत पर्ने हुलाकी सडक क्षेत्रदेखि ३५० फिटको उचाइमा पर्ने सो मन्दिर कृष्ण भगवानको अवतार गोवद्र्घनजीको हो । हुलाकी सडकदेखि ८ किलोमिटर जंगलको बाटो हिँडेपछि मन्दिरमा पुग्न सकिन्छ । त्यो क्षेत्रमा पुगेपछि तराई क्षेत्रमा पनि यस्तो क्षेत्र रहेछ भन्ने भान जो सुकैलाई हुन्छ ।

बनको बीचमा मन्दिर मात्रै नभई मन्दिर को १ किलोमिटर उत्तरतर्फ कन्चन बग्ने खोला र झरना रहेको छ । गोवद्र्घन बाबाको पूजा गर्न जाने भक्तजनहरु झर्नामा गई नुहाएर आनन्द लिने गर्दछन् । हाल मन्दिरमा दर्शनका लागि पुग्ने श्रद्धालुलाई प्रसादीको व्यवस्था मन्दिरका पुजारीले गर्दै आएका छन् ।

हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको समयमा हरेक वर्ष सो स्थलमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेला लाग्ने दिनमा भण्डारा लाग्ने गरेको मन्दिरका पुजारी बजरंग दासले जानकारी दिए । उक्त मेलामा नेपालबाट मात्रै नभएर भारतको विभिन्न क्षेत्रबाट समेत भक्तजनहरु आउने गरेको उनको भनाइ छ ।

मेलाको दिन १ हजार भन्दा बढी भक्तजनहरुको उपस्थिती रहने गरेको उनी बताउँछन् । भण्डारामा आउने सबै भक्तजनहरुलाई निःशुल्क खानपिनको व्यवस्थापन मन्दिरले गर्दै आएको छ । त्यसैगरी हरेक वर्षको तीज पर्व, जेष्ठ महिनाको गंगादसराको दिनमा समेत मेला तथा भण्डारा लाग्ने गरेको बताइन्छ । मेला तथा पर्वका अलावा केही व्यक्तिहरु मन्दिरमा रहेका बाबाको आशीर्वाद लिन त्यहाँ पुग्ने गरेका छन् । रातिमा नराम्रो सपना देख्ने र लागीभागी भएको शङ्का गर्ने व्यक्तिहरु त्यो मन्दिरसम्म पुगी आशीर्वाद थापेमा ठीक हुने विश्वास रहेको छ ।

अहिले नेपालगन्जदेखि नरैनापुर जोड्ने हुलाकी सडक कालोपत्रे भएपछि पालिका भित्र रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा घुम्न आउनेको संख्या बढेको स्थानीयहरु बताउँछन् । हुलाकी राजमार्गदेखि माथि जंगलमा साइकल वा मोटरसाइकलबाट मात्रै जान सकिने भएकाले त्यसलाई सुधार गरेमा सो स्थलमा जानेको संख्या बढ्ने देखिन्छ । तराई जिल्लाको रूपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकामा रहेको पहाडमा अवस्थित सो मन्दिरकोे आवश्यक प्रचार प्रसारका लागि स्थानीय सरकारले ध्यान दिन जरूरी देखिन्छ ।

नमस्कार शाह

टिप्पणीहरू