चौधरीको दुवै रिट खारेज,बिजुली गाडीमा तोडियो मोनोपोली

चौधरीको दुवै रिट खारेज,बिजुली गाडीमा तोडियो मोनोपोली

उच्च अदालत,पाटनले विवादास्पद व्यापारी तथा डलर अर्बपति विनोद चौधरीको सिजी मोटर्स प्रालिले दायर गरेको दुवै रिट खारेज गरेको छ । न्यायाधीशद्धय ब्रजेश प्याकुरेल र बासुदेव न्यौपानेको संयुक्त इजलासले आज दुवै रिट खारेजीको फैसला सुनाएको हो । 

अटोमोबाइल्स क्षेत्रमा अन्य कम्पनीलाई भित्रिन नदिन सिजी मोटर्सले मुद्दा हालेर सरकारी निकाय र विदेशी कम्पनीलाई दुःख दिइरहेको थियो । उच्चले मुद्दा खारेज गरेसँगै अन्य कम्पनीलाई गाडी ल्याउन बाटो खुलेको छ । 

यही गाडी प्रकरणमा बिनोदले आफ्नै भान्जाको समेत गाँस खोसेर दिदीको घरमा रुवावासी गराएका थिए । 

२०८० माघ ९ गते सिजी मोटर्सले विद्युतीय भ्यान आयातका लागि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुमति लियो । ‘केवाईसी ईलेक्ट्रिक प्यासेन्जर भ्यान’ को आयातका लागि सिजी र चीनको वाङजोऊ जिल्लास्थित ‘चोङछिङ चाङएन कुवायु अटोमोबाइल्स कम्पनी लिमिटेड’ बीच सन् २०२२ जुलाई ७ मा सम्झौता भयो ।

सम्झौताको म्याद सन् २०२७ डिसेम्बर ३१ सम्म छ । वर्षेनि ५७६ वटा भ्यान ल्याएर बिक्री गर्ने सहमति भएकोमा सन् २०२५ को जुनसम्म दुई हजार २६९ वटा भ्यान बेचेको सिजीको दाबी छ । २०२७ सम्म गाडी आयात गर्ने सम्झौता भएकोमा सिजीले बीचमा एकाएक आयात रोक्यो । त्यसपछि सो चिनियाँ कम्पनीले सिजीलाई पत्र लेख्यो ।

सम्झौता उल्लंघन भएको भन्दै पत्र पठाएकोमा सिजीले सन् २०२५ जुन ९ मा पहिल्यै आयात गरेको गाडी बाँकी रहेकाले जुलाईको अन्तिमसम्म प्रतितपत्र (एलसी) खोल्ने भनी जवाफ पठायो । सम्झौताको बर्खिलाप भएको भन्दै चिनियाँ कम्पनीले सिजीलाई सम्झौता तोडेको पत्र लेख्यो । त्यसपछि सो कम्पनीले ईलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालिसँग केवाईसी ईलेक्ट्रिक भ्यान आयातका लागि एक वर्षको सम्झौता गर्यो ।

काठमाडौंको टेकुमा कार्यालय रहेको सो प्रालिले आपूर्ति विभागबाट एजेन्सी लियो । आफूले भ्यान आयातको एजेन्सी पाएकोमा अर्कोलाई दिएर आपूर्ति विभागले कानुनको गम्भीर उल्लंघन गरेको भन्दै सिजी मोटर्सले उच्च अदालत,पाटनमा २०८२ साउन १४ गते मुद्दा दायर गर्यो ।

सिजीले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,बबरमहललाई विपक्षी बनाएर मुद्दा हालेको हो । त्यसपछि पुनः कात्तिक २ गते भन्सार विभागसमेतलाई विपक्षी बनाएर अर्को मुद्दा हालियो । आजको संयुक्त इजलासले दुवै रिट खारेज गरिदिएको छ ।
यही गाडी प्रकरणमा बिनोदले आफ्नै भान्जाको समेत गाँस खोसेर दिदीको घरमा रुवावासी गराएका थिए ।

टिप्पणीहरू