प्रधानमन्त्रीविरुद्ध माइतीघर हाइटमा गम्भीर छलफल हुँदै
प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलाबारे दिनुभएको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भएको छ । एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले केही मुस्लिम परम्पराहरू अन्यायपूर्ण रहेको उल्लेख गरेपछि उक्त समुदाय आन्दोलित भएको छ ।
कतिपय इस्लामिक महिलामाथि हुने दमन,शिक्षाबाट वञ्चित गरिएका घटना तथा कम उमेरमै बालिकाको विवाहजस्ता उदाहरण दिएपछि उनीहरुले अपमान महसुस गरेका हुन् । नेपाली मुस्लिम नेताहरूका अनुसार प्रधानमन्त्रीका ती टिप्पणी असंवेदनशील र समुदायलाई गलत रूपमा प्रस्तुत गर्ने खालको भएकाले सच्चाउनुको विकल्प छैन ।
मुलुकको कार्यकारी प्रमुखको गरिमा अनुरूप नदेखिएको अभिव्यक्तिप्रति डा. अबुल हुसैन अन्सारीले आपत्ति जनाएका छन् । जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति समुदायका लागि निराशाजनक र गैरजिम्मेवार भएको उल्लेख छ । यस प्रकारका टिप्पणीले धार्मिक समुदायबीच लामो समयदेखि रहँदै आएको आपसी सद्भाव र सम्मानमा असर पार्नेतर्फ उनले सचेत गराएका छन् ।
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे सामूहिक निर्णय र आगामी रणनीति निर्धारण गर्न मुस्लिम समुदायले आज दिउँसो २ बजे माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा भेला आह्वान गरेको छ । डा. अन्सारीले सबै सदस्यलाई उक्त छलफलमा सहभागी हुन आग्रह गरेका छन् ।
मुस्लिम समुदायका अगुवाहरूका अनुसार उक्त अभिव्यक्तिले मुस्लिम महिलाको पहिचान र धार्मिक संवेदनशीलतामा चोट पुगेको छ । त्यसैले संयुक्त रूपमा औपचारिक प्रतिक्रिया,भावी कदम र सम्भावित विरोधका कार्यक्रमबारे छलफलको तयारी थालिएको हो । विभिन्न मुस्लिम संस्था,अभियन्ता,समुदायका युवा तथा स्थानीय प्रतिनिधिहरूबीचको समन्वयमा आजको भेला राखिएको बताइएको छ ।
टिप्पणीहरू