को बन्ला अबकाे मुख्यसचिव ?

को बन्ला अबकाे मुख्यसचिव ?

प्रधानमन्त्रीबाट केपी ओली फालिएपछि बदलिँदो सत्ता समीकरणमा मुख्यसचिव सुमनराज अर्याल बन्ने संभावना देखिएको छ । कांग्रेस र एमालेसँग आ–आफ्ना उम्मेदवार थिए तर दुवै सम्मिलित सत्ता जेनजी आन्दोलनले स्वाहा बनाइदिएपछि अर्यालको दिन खुल्न लागेको स्रोत बताउँछ । 

‘यदि ओली सरकार रहिरहेको भए मुख्यसचिवमा लफडाको स्थिति थियो । ओलीले प्रमिला बज्राचार्य, कांग्रेस सभापति शेरबहादुर देउवाले विचौलिया दिपक भट्टका प्रिय गोकर्णमणि दुवाडी र कृष्णहरि पुष्करमध्येबाट बनाउन लबिङ गरिसकेका थिए,’ नेपाली कांग्रेसनिकट विश्वस्त सूत्रले भन्यो, ‘सुमन तथ्यांकतिरबाट आएका प्राविधिक हुन् । अहिले रक्षा मन्त्रालयमा सचिव छन् तर सबै हिसाबले निपुण भएकाले मुख्यसचिवमा उनकै सम्भावना बढी देखिएको छ ।’ लीलादेवी गड्तौलापछि ओलीले महिला र नेवार कम्युनिटीको पनि भन्दै बज्राचार्यको नाम लिने गरेको स्रोत बताउँछ तर एकाएक भएको जेनजी आन्दोलनले प्राविधिक धारकै बज्राचार्यको सम्भावना अन्त्य गरिदिएको छ । 

नियुक्ति र बढुवामा धेरै नै चासो राख्ने देउवा र श्रीमती आरजुको रुचिमा दवाडी र पुष्कर परेको स्रोत बताउँछ । दुवाडी अहिलेका मुख्यसचिव एकनारायण अर्यालसँगै मंसिर १० गतेपछि अवकाशमा जाँदैछन् । सेनामा सिनियरिटी, पुलिसमा पनि वरिष्ठता नै कायम गरिसकिएकाले प्रशासनतिर पनि सुमन अर्याल नै माथि आउने आकलन गरिएको छ । उनी बनाउन नसके पनि बिगार्न पनि नसक्ने पात्र भएको बुझिएको छ । 

(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू