दिल्लीमा विस्फोट, थिम्पुमा मौनधारण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानी राजाका पिता तथा यसअघिका चौथो राजा जिग्मे सिङ्गे वाङ्चुकलाई ७०औँ जन्मोत्सवको शुभकामना दिएका छन् । सो अवसरमा आयोजित भव्य समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उनका पिता तथा चौथो राजाको बीचमा बसेर शुभकामना व्यक्त गरेका हुन् ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आयोजित विशेष समारोहमा राजपरिवार, सरकारका उच्च अधिकारी, विदेशी अतिथि र हजारौं भुटानी नागरिक उपस्थित छन् । समारोहमा दिल्लीमा हिजो भएको विस्फोटमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण र प्रार्थना गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र भुटानबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई “विश्वास, आत्मीयता र आपसी सम्मानमा आधारित साझेदारी” भनेका छन् । उनले यसअघिका राजाको दूरदर्शी नेतृत्व र वर्तमान राजाको प्रगतिशील सोचले दुवै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरे।
मोदीले भारतीय जनताको तर्फबाट यसअघिका राजालाई हार्दिक बधाई र शुभकामना दिएका छन् । उनले भुटानको स्थायी शान्ति, समृद्धि र सुशासनका लागि भारत निरन्तर साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
राजाका बाबुछोराको बीचमा उभिएको मोदीको उपस्थितिलाई भुटानी मिडियाले ‘ऐतिहासिक दृश्य’का रूपमा चित्रण गरेका छन् ।

टिप्पणीहरू