ओली कमरेड अचेल को–कोसँग आगो ?
जेनजी आन्दोलनका कारण १० दिन सैनिक सुरक्षामा बसेर असोज २ गते फर्केदेखि नै केपी ओली हरेक क्षण सेनाबारे बोलिरहेका छन् । सेनासँग समस्या देखिएका धेरै कारणमध्ये दुई विषय अहिले एमाले नेताबीच चर्चाको विषय छ । शान्ति सेनाको लागि किन्न लागिएको हतियार, काठमाडौँ–तरार्ई दु्रतमार्गको पेटी ठेक्का र भुक्तानीको सवाल ।
संयुक्त राष्ट्रसंघीय मिसनका लागि २७ वटा एपिसी किन्न अर्थ मन्त्रालयले बजेट निकासा पनि गरिसकेको थियो । भारतबाट किन्दा चीन रिसाउने र चीनबाट ल्याउँदा भारत झस्किने अवस्था सिर्जना भयो भने तेस्रो मुलुकबाट किन्ने प्रस्तावउपर ओलीले सेनासँग छलफल चलाएका थिए ।
विगतमा यस्तै विवाद हुँदा बेल्जियम, जर्मनी र इजरायलबाट खरिद गरिएको प्रसंग निकालेर ओलीले भू–राजनीतिक असर नपर्ने देशको खोजी गर्न सेनाप्रमुख अशोकराज सिग्देलसँग परामर्श गरिरहेका थिए । एक अधिकारीका अनुसार, जब हतियार किन्ने लगभग पक्का भयो तब ओलीले नेपाली एजेन्टका रूपमा दीपक भट्टको नाम लिए ।
जुन कम्पनीबाट हतियार खरिद गरिँदै थियो सो कम्पनीका नेपाल प्रतिनिधि अरू नै भएको सेनाले बतायो तर ओलीले अरुण जलविद्युत् परियोजनाको एजेन्सी प्रकरणमा झैँ बारम्बार दीपक भट्टको नाम लिइरहे । लगानी बोर्डको सिइओ भइसकेका सुशील भट्टले भाइ दीपकलाई सो कम्पनीको नेपाल प्रतिनिधि बनाउन निकै प्रयत्न पनि गरे । तर, त्यो सम्भव भएन । ओली जसै दीपकलाई प्रतिनिधि बनाएर हतियार खरिद गर्न चाहन्थे, उता विदेशी कम्पनी दीपकमार्फत हतियार पठाउन तयार भएन, सेनाले पनि प्रभावकारी भूमिका खेलेन र प्रक्रिया स्थगित भयो ।
आफूनिकट नेतालाई ओलीले सेनाले विभिन्न कुरामा असहयोग गरेको बताएका छन् । दीपक भट्टको प्रसंग निकाल्ने नेतालाई ओलीले जवाफ दिएका छन्, ‘सबै ठूला पार्टी मिलेर घेराबन्दी गरेका बेला उसले २०७९ को चुनावमा साथ दिएको बिर्सनु हुँदैन ।’
२०७९ को संसदीय निर्वाचनमा एमालेबाट उठेका कर्णालीका उम्मेदवारहरूलाई ओलीको सन्देश भन्दै भट्टले फोन गरेका थिए । तिनैमध्येका एक नेताले भने, ‘मलाई पार्टी अध्यक्षको नाम लिएर उहाँले फोन गर्नुभएको थियो, चुनाव खर्च दिनुपर्ने छ, कसरी दिने भन्नुभयो ।’ कर्णालीका अरु उम्मेदवारहरूलाई पनि यसैगरी खर्च उपलब्ध गराइएको उनले जानकारी दिए ।
काठमाडौँ–तराई दु्रतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ । काम छिटो सक्न सेनाले पेटी ठेक्काहरू लगाएको छ । साथै विभिन्न सामग्री खरिद गर्ने, भाडामा लिने कार्य पनि भएका छन् । यी काममा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले चासो राखेर भाँजो हालेको सेनाका अधिकारीहरूले बताए । ‘फलानो–फलानो ब्यक्ति र कम्पनीलाई काम दिनु भन्ने मात्र होइन, रकम भुक्तानीमा समेत दवाव दिन थाल्नुभयो ।’ द्रुतमार्ग निर्माणमा खटिएका एक अधिकारी भन्छन्, ‘कसैको ठेक्का र काम दिनकालागि प्रधानमन्त्री कार्यालयको यो हदसम्मको दुरूपयोग कहिल्यै भएको थिएन ।’
सेनाभित्रका स–साना काममा प्रधानमन्त्री ओली र उनको टिमबाट असहज वातावरण सिर्जना भएपछि सेनाले विभिन्न तरिकाले ओलीकहाँ सन्देश लगेको थियो । यसै क्रममा कांग्रेस उपसभापति तथा पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओलीलाई सम्झाउन आग्रह गरियो । खड्का मात्र होइन अरु व्यक्तिमार्फत सेनाले ओली कहाँ समस्या भएको सन्देश दिएको थियो । यस्तो सन्देश लैजानेहरूलाई ओलीले उल्टै हप्काउने गरेका थिए । खड्काबाट गठबन्धनमा नै समस्या पर्न सक्छ भन्ने भएपछि ओलीले चीन भ्रमणमा सँगै लगेको सेनाभित्र चर्चाको विषय बनेको थियो । खरिद प्रक्रियामा समेत अनावश्यक दवाब आएर काम गर्न नसकिएको सेनाको आर्थिक प्रशासन विभाग सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
प्रतिगमनको ह्याङ
कात्तिक ९ गते सोमबार साँझ गुण्डुमा मानवअधिकार एलायन्सको टोलीसँग कुरा गर्दै ओलीले देशमा प्रतिगमन भएको भनी बेलीविस्तार लगाए । एलायन्सका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई साढे दुई बजेको समय मिलाइएको थियो ।
अध्यक्ष विदुर सुवेदीको टोली २ बजे नै अस्थायी निवास गुण्डु पुग्दा ओली खाना खाएर सुतेका थिए । एक घण्टा सुतेर उठेपछि मास्क लगाएर नवयुवाहरूलाई भेटे । त्यसपछि कर्णालीका केही नेतासँग भेटघाट गरेपछि बल्ल एलायन्सको पालो आयो साढे पाँच बजे ।
तीन घण्टा कुराएकोमा ओलीले कुनै गल्ती महसुुस गरेनन्, सिधै बोल्न थाले– ‘तपार्ईंहरूले बुझ्नुभएकै छ, देशमा प्रतिगमन भएको छ ।’ ४५ मीनेटसम्म धारा प्रवाह बोलेका ओलीले भने, ‘प्रधानमन्त्री हटाउने जेनजीको माग थिएन, मौकाको फाइदा सबै मिलेर उठाए, राज्यका संयन्त्रहरू बिके, मसँग केही छैन भन्ने भएपछि राजिनामा दिएको हुँ, जनतामा लोकप्रिय भएर काम गरिरहेको बेला प्रतिगमन गरी हटाए, यो म विरुद्धको मात्र प्रहार हैन एमालेलाई सक्ने खेल हो, तपाईंहरूले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुहोला ।’
भदौ २३ गते र २४ गतेको घटनालाई आफ्नै शैलीमा विश्लेषण गरी ओलीले सुनाएका थिए । ‘लोकप्रिय काम गरेर जनताको मन जितेको कारण शक्तिकेन्द्र र नेपालका केहीलाई मन परेको थिएन त्यसैले षड्यन्त्रपूर्वक हटाएको कुरा तपाईं साथीहरूले बुझ्नुपर्छ,’ ओलीले भने, ‘मानवअधिकारको पक्षमा सधैँ लडेको व्यक्ति, जनताको पक्षमा थिएँ, किन स–साना नानीहरूलाई गोली हान्न आदेश दिन्थेँ र ! मेरो बद्नाम गराउन खेलिएको खेल हो यो ।’
आफूले गरेका काम र नेतृत्वबारे धेरै बेर बोलेका ओलीले पार्टीभित्रको संघर्षलाई पनि लक्ष्य गरी बोलेका थिए । राज्यका संयन्त्र सँगसँगै पार्टीका केही नेता पनि बिकेको बताए । अध्यक्ष सुवेदीले संगठनले गरेका कामको विवरण सुनाएका थिए । इञ्चार्ज विष्णु रिजालले ११ औँ महाधिवेशनबाट पनि ओली नै पार्टी अध्यक्ष भएर आउनुपर्ने धारणा राखे । यहाँ आएका साथीहरू पनि तपाइँकै नेतृत्व हुनुपर्छ भन्न आउनुभएको हो भन्ने धारणा पनि रिजालको थियो ।
गुण्डुमा चल्छ तीन जना प्रशासकबारे गुनासो
जेनजी आन्दोलनबाट प्रधानमन्त्री पद गुमाएका ओली हरेक दिन गुण्डुमा तीन जनाको नाम लिएर रिसाउने गरेको एमाले नेताले बताएका छन् । मुख्यसचिव एकनारायण अर्याल, अख्तियार प्रमुख पे्रमकुमार राई र पुर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नाम नै लिएर उनले भन्ने गरेका छन्, ‘यहाँ कसको विश्वास गर्ने, उनीहरूलाई मैले नसोचेको पद दिलाएँ, पछि मलाई नै असहयोग गरे ।’
बिचौलिया दीपक भट्टलाई मुद्दा चलाउने विषयमा राई र अर्यालसँग ओलीको रिस उठेको रहेछ । प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि अनुसन्धान गरिरहेको थियो । गैरकानुनी रूपमा सम्पति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान अगाडि बढेपछि ओलीले गत जेठमा मुख्यसचिव अर्याललाई अनुसन्धान प्रक्रिया रोक्न दवाव दिए ।
हिमालयन रि इन्स्योरेन्सबाट गैरकानुनी रूपमा दीपक भट्टको खातामा गएको रकमबारे अख्तियारमा पनि उजुरी परेको थियो । सो उजुरी अगाडि बढाएका राईलाई बालुवाटारमा बोलाएर ओलीले किन दीपक भट्टको पछि लागेको भनी गाली गरे । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयको विधेयक मस्यौदा गरी निर्वाचन आयोगले गृह मन्त्रालयमा पठाएको थियो । ‘किन जान्ने हुनुपरेको’ भनेर दिनेश थपलियालाई समेत गाली गरे ।
यी घटनाक्रम ओलीले आफूनिकट नेतालाई गुण्डुमा सुनाएका छन् । ती नेताले तीनै जनाकहाँ यो खवर दिएको पाइएको छ । तीन जनाले ओलीबारे समीक्षा गरेको उनीहरूनिकट स्रोतले बताएको छ । ‘दिनभरको गतिविधि मुख्यसचिवबाट अपडेट लिन खोज्नुहुँदोरहेछ ओलीले,’ स्रोतले भन्यो, ‘ कसलाई मुद्दा हाल्ने वा नहाल्ने भनेर पनि प्रेम राईले ओलीलाई सोध्नुपर्छ भन्ने रहेछ, यो कसरी सम्भव हुन्छ ? हुँदैन ।’
(जनआस्था साप्ताहिकको कात्तिक १२ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू