कसको खर्चमा बाँडियो सिंहदरबार जलाउनेलाई पानी ?
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले भदौ २३ गते प्रदर्शनको घोषणा गरे । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रदर्शनमा आफ्नो पूर्ण समर्थन जनाएका थिए । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उमेरका कारण आफू सहभागी हुन नपाए पनि प्रदर्शनमा समर्थन रहेको बताए ।
आन्दोलनमा जेनजीहरुको सहजताका निम्ति महानगरले ठाउँ–ठाउँमा घुम्ती शौचालय राखेको थियो । काठमाडौं महानगर प्रहरी बलले ‘मेट्रोपोलिटन पुलिस फोर्स’ को भ्यान दुरुपयोग गर्दै उनीहरुलाई मिनरल वाटर पनि बाँडेकै हो । सिंहदरबार जल्दा दमकल नपठाएर आन्दोलनकारीलाई पानी बाँडिरहेको विषयमा महानगरको चर्को विरोध भइरहेको छ ।
भदौ २४ गते सिंहदरबारसहित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, संसद् भवनलगायत सयौं सरकार कार्यालयमा आगो लगाइएकोमा भोलिपल्टसम्म बलिरह्यो । तर, महानगर भने पानी बाँड्नमै व्यस्त थियो । सो पानी कुन श्रोतबाट बाँडियो ? जनचासोको विषय बनेको छ ।
महानगरकै एक कर्मचारीका अनुसार पानी महानगरको बजेटमा बाँडिएको हो । ‘आन्दोलनकारीलाई पानी महानगरको पैसाले बाँडेको हो । पानी बाँड्दा महानगरको गाडी दुरुपयोग भएको छ’,उनले भने ।
महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले आन्दोलनकारीलाई बाँडेको सबै पानी सहयोगको भएको दाबी गरे । पानी कम्पनीहरुले प्रहरी बललाई सहयोग गरेको पानी आन्दोलनकारीलाई दिइएको उनको भनाइ छ ।
‘हामीलाई कम्पनीहरुले पानी सहयोग गरेको थियो । त्यही पानी जेनजी भाइबहिनीलाई दिएका हौं’,उनले भने । उनका अनुसार घाइतेहरुको उपचार खर्च महानगरले व्यहोरेको हो ।
टिप्पणीहरू