ओली र लेखकविरुद्धको जाहेरी फिर्ता

ओली र लेखकविरुद्धको जाहेरी फिर्ता

भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको विध्वंशबारे अध्ययन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी फिर्ता गरिदिएको छ । फौजदारी कसुरमा अनुसन्धान गर्ने अख्तियार प्रहरीसँग भएको उल्लेख गर्दै आयोगले आज जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाएको हो । 

आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा अनुसन्धान गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने अधिकार आयोगलाई नभएको प्रष्ट पारेका छन् । ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२–०६–२१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइदिने’,विज्ञप्तिमा उल्लेख छ ।  

प्रदर्शनमा शहिद जेनजी रसिक खतिवडाका बुवा पुरुषोत्तम खतिवडासमेत चार जनाले गत असोज २१ गते मानवताविरुद्ध तथा राज्यविरुद्धको कसुरमा जाहेरी दिएका थिए । परिसरले सो जाहेरी आयोग पठाइदिएकोमा आयोगको आजको बैठकले परिसरमै फिर्ता पठाउने निर्णय गरेको हो ।

टिप्पणीहरू