सिर्फ एक थान प्रधानमन्त्रीका निम्ति यति ठूलो रक्तपात

सिर्फ एक थान प्रधानमन्त्रीका निम्ति यति ठूलो रक्तपात

जेनजी आन्दोलनमा कोही नेता नभएको दाबी गरिएको थियो तर सामान्य अवस्थाबाट शुरु भएर १९ जनाको मृत्यु हुँदै सार्वजनिक सम्पत्तिमा तवाही भएपछि स्थिति अर्कै हुन पुग्यो । राज्यसत्ताले हात उठाएपछि नयाँ प्रयोग स्वरूप वार्ता र संवाद गर्दा जेनजीको नेता को हो भन्नेमा विवाद भयो । मिराज ढुंगानाको मिराज समूह, रक्षा बम, तनुजा पाण्डे, पुरुषोत्तम यादवसहितका थुप्रै चर्चामा थिए । एकाएक सुदन गुरुङ नेताको रूपमा उभ्याइए । सुदन गुरुङकी श्रीमती छैनन् । बच्चा भूकम्पमा किचिएर बित्यो । पारिवारिक रूपमा विक्षिप्त भएपछि उनी सामाजिक काममा लाग्न थाले । 

‘पारिवारिक रूपमा तनाव र समस्या भोगेका मान्छे रहेछन् तर यिनको कनेक्सन धेरै छ, त्यो मान्छे युज भएको हो,’ स्रोतले भन्यो, ‘दलाई लामाले नयाँ सरकारलाई समर्थन गर्‍यो, जुन पहिलोपटक हो । स्टुडेन्ट फर अ फ्रि तिब्बतले उसलाई फाइनान्सियल फन्डिङ गरेको छ । यसले उनलाई झन् विवादमा पार्‍यो ।’

यहीबेला मणिपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सुशीला कार्कीलाई निकै महत्व दिएर लामो भाषण गरे । नेपालबाट सिक्नुपर्छ भनेर प्रशंसा गरे । ‘हेर्दा पनि गुरुङ राजनीतिक खालका लाग्दैनन् । उनले भोलिन्टियरका रूपमा मात्रै काम गरेको हो । म जेनजीको नेता होइन भन्ने त भिडियो नै आएको छ,’ स्रोत भन्छ, ‘मल्पीको होस्टलमा बसेर पढेको मान्छे हो । डिजे भएर इभेन्ट चलाएको रहेछ । हर्क साम्पाङसँग संगत गरी अभियान चलाएर हिँडेको पनि हो ।’ 

गुरुङले यसो भने पनि भारतीय मिडियाले उनी नै यो आन्दोलन चलाउने हामी नेपाली संस्थाको प्रमुख भन्दै प्रचार गरेका थिए । २०७२ सालको भूकम्प अगाडिसम्म उनले रेष्टुरेण्ट चलाउने गरेका थिए । उनको प्रस्तुति इमोसनल छ तर आवेशमा आउने शैली दीपक मनाङे  र चक्रे मिलनको जस्तो मातिहाल्ने खाले नभएको स्रोत बताउँछ । प्रश्न उठेपछि उनले पत्रकार सम्मेलन गरेरै आफूलाई नेताको रूपमा उभ्याएका थिए तर अरु समूहले विरोध गरेपछि मन्त्री बन्ने आकांक्षा नभएको बताएका छन् । कार्कीले प्रधानमन्त्रीमा शपथ लिएपछि गुरुङ उनको खुट्टा ढोगेर थप चर्चामा आएका छन् । अभियान चलाउने मिराज ढुंगाना भने गुमनाम छन् । यत्रो राजनीतिक उथलपुथलमा उनलाई कतै पनि सम्झिइएको छैन । 

सुदन बालेनभन्दा उमेरले जेठा छन् तर बालेनले सुशीलाको नाम लिएपछि सुदनले नै प्रस्ताव गरेका थिए । ‘बालेन प्रधानमन्त्री हुन गएन । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा सर्वसम्मत नहुने बुझे । ६ महिनामा केही पनि काम गर्न नसक्ने, पुननिर्माण गर्न गाह्रो हुने बोध उनलाई थियो । चिहान सम्याएपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन्,’ स्रोत भन्छ, ‘हप्ता दिनभित्र पार्टी दर्ता गर्न बालेनले १५ जनाको कोर टिम बनाएका छन् ।’ 

सजिलो छैन जेनजीलाई

भ्रष्टाचार र कुशासनको अन्त्यलाई मुद्दा बनाएको जेनजी समूहले अन्तिममा एकथान प्रधानमन्त्रीका लागि मात्रै सम्झौता गरेको आरोप खेपिरहेको छ । संसद भंग गराएर कार्कीलाई प्रधानमन्त्री बनाएको तर सम्झौताका कुनै बुँदामा अडान नलिएको भन्दै भित्रैबाट विरोध हुन थालेको छ । पुरानो सत्ताले हात उठाएको बेला जुनसुकै मुद्दा पनि स्थापित गराउने अवसरलाई नेतृत्व गर्नेले खेर फालेको रूपमा अन्य जेनजीले लिएका छन् । किनकि प्रधानमन्त्री छान्नेभन्दा यही व्यवस्थामा टेकेर शासकीय सुधारको निम्ति दबाब बढाउन सक्दा मुद्दा स्थापित हुन सक्थ्यो । तर ६ महिनामा चुनाव गर्ने एउटा शर्तमा प्रधानमन्त्री बन्नेभन्दा यत्रो क्षति व्यहोरेको आन्दोलनले देखिने उपलब्धि देखिने हात नपारेको भन्दै प्रश्न उठेका छन् । 

लडहमा सार्वजनिक सम्पत्ति, व्यावसायिक घराना, व्यक्तिका निजी घरमा ठूलो क्षति पुर्‍याएपछि जेनजीलाई यसैले लखेटेको छ । अनेक स्वार्थ समूहले आगजनी र तोडफोड गरे पनि यसको दोष जेनजीकै टाउकोमा आएको छ ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू