मृतक र घाइतेको संख्या उकालो लाग्दै, सरकार गम्भीर संकटमा
काठमाडौँसहित देशका मुख्य शहरमा आज भएको ‘जेनजी’प्रदर्शनका क्रममा करिव २७ जनाको ज्यान गएको छ ।
यसैगरी,विभिन्न अस्पतालमा सयौँको संख्यामा घाइतेहरूको उपचार भइरहेको छ । बानेश्वरको सिभिल अस्पतालमा मात्रै २०० भन्दा बढी घाइते छन् । घाइतेमध्ये केही प्रहरी पनि रहेको र धेरैको अवस्था गम्भीर रहेको छ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बनेको छ । सरकारले बर्बर दमन गरेपछि उग्र भएका प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएका छन् ।
बिहान संसद भवनभित्र छिरेर आगो लगाएका युवाहरुले अहिले च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । त्यसअघि आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको थियो ।
भर्खरै प्रदर्शनकारीको एउटा समूह सिभिल हस्पिटलभित्र छिरेपछि प्रहरीले टियर ग्यास हानेको छ । सिभिलमा घाइतेको संख्या बढ्दै जाँदा नर्मल स्लाइनपानीको अभाव भएको छ ।
काठमाडौँ बाहिर पनि जेनजीको प्रदर्शनमा झडप भएको छ । आन्दोलन उग्र भएपछि काठमाडौँ, पोखरा,इटहरी,भैरहवामा कर्फ्युं लगाइएको छ । तर,प्रदर्शन रोकिएको छैन । भर्खरै प्रदर्शनकारीको एउटा समूह सिभिल हस्पिटलभित्र छिरेपछि प्रहरीले टियर ग्यास हानेको छ । सिभिलमा घाइतेको संख्या बढ्दै जाँदा नर्मल स्लाइनपानीको अभाव भएको छ ।
यसबीच उपत्यकास्थित सरकारी अस्पतालका निर्देशकहरूले यसबारे भर्चुअल छलफल गरेका छन् । उनीहरुले आपसी समन्वयमा जुन अस्पतालमा औषधी र एम्बुलेन्स आवश्यक पर्ने हो त्यहाँ पठाइरहेका छन् । दिउँसो सिभिलले बिरामीको चाप थेग्न नसकेपछि वीर,ट्रमा र पाटन अस्पतालबाट एम्बुलेन्स र औषधि पठाईएको थियो ।
यता,प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरमा ढुंगामुढा भएको खबर छ । प्रदर्शनकारीले कोशी प्रदेश सभा घेराउ गरिरहेका छन् ।
टिप्पणीहरू