सुरक्षाकर्मीको भान्सामा कर्मचारीको क्यान्टिन
सुरक्षाकर्मीको भान्सा खोसेर कर्मचारीलाई क्यान्टिन ! सन्दर्भ पर्सा जिल्ला अदालतको हो । अदालतको सुरक्षार्थ खटिने सुरक्षाकर्मीले भान्सा बनाएको कोठा खाली गराएर क्यान्टिन सञ्चालन गर्न लागिएको छ । त्यसका निम्ति ठेक्का आह्वान भइसकेको छ । साँघुरो भए पनि जसोतसो काम चलाइरहेको भान्सा कोठासमेत खोस्न खोजिएपछि सुरक्षाकर्मीहरू समस्यामा परेका छन् । उनीहरूलाई खाना पकाउने ठाउँकै अभाव हुने भएको छ । अदालतका तीन वटा भवन छन् । भवनको कुनापट्टी जस्ता बारेर सुरक्षाकर्मीले भान्साको रूपमा प्रयोग गरिरहेका छन् ।
त्यहाँ भान्सा सञ्चालन गरेको लामो समय भइसकेको छ । उनीहरू त्यहीँ खाना पकाउँछन्, खान्छन् । नयाँ व्यवस्था गरिदिनुको साटो पुरानो पनि खोस्न लागिएको भन्दै उनीहरूले कडा आपत्ति जनाएका छन् । अदालतभित्र क्यान्टिन सञ्चालन गर्नुको उद्देश्य कर्मचारीहरू खाजा खान बाहिर जाँदा काममा असर नपरोस् भन्ने हो । यसको अर्थ कसैको भान्सा खोस्नु कदापि होइन । एक सुरक्षाकर्मी भन्छन्, ‘अदालतभित्रको संरचना व्यापारिक थलो होइन । अदालतभित्र क्यान्टिन सञ्चालन गर्न दिनुको विशुद्द उद्धेश्य भनेको कर्मचारी खाजा खान बाहिर जाँदा कार्य समयमा बाधा पर्न सक्ने अवस्थाको न्यूनिकरण गर्न हो । त्यो राम्रो पनि हो । तर, त्यसका लागि हाम्रो कोठा खोस्न मिल्दैन । हामीलाई पनि खाना पकाएर खाने ठाउँ त चाहियो नि !’
अदालत दिनभर अत्यन्तै भीड हुने कार्यालय हो । दिनकै सयौं सेवाग्राही आउँछन् । तीन वटा भवन भए पनि एकदमै साँघुरो छ । कर्मचारीसँगै सेवाग्राहीले विभिन्न समस्या झेल्दै आएका छन् । चौबिसै घण्टा अदालतको सुरक्षामा खटिने सुरक्षाकर्मीले खेपिरहेको समस्या त झन् भनिसाध्य छैन । त्यस्तोमा एउटा भान्सा कोठा पनि खोस्नु उनीहरूमाथि अन्याय हो । अदालतका तहसिलदार सुदिप पोखरेल क्यान्टिन सञ्चालनका लागि छुट्टै ठाउँ भएको बताउँछन् । जनआस्थासँग भने, ‘पुरानो क्यान्टिन भएकै ठाउँमा नयाँ क्यान्टिन सञ्चालन गर्ने होला । यहाँ पहिला पनि क्यान्टिन थियो । प्रहरीहरूको भान्सा राखेको त लामो समय भइसकेको छ । त्यहाँबाट उहाँहरूलाई हटाउनेबारे मलार्ई थाहा छैन ।’
अदालतका सूचना अधिकारी रामनरेश महतोका अनुसार केही दिनअघि क्यान्टिनको ठेक्काका लागि सूचना प्रकाशित गरिएको छ । अदालतमा पहिलेपनि क्यान्टिन रहेकोमा त्यसमै अर्को सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरिएको उनको भनाइ छ । ‘क्यान्टिनका लागि केही दिनअगाडि सूचना प्रकाशित गरेर ठेक्का आह्वान गरिएको छ । यहाँ पहिले पनि क्यान्टिन थियो । तर, त्यो प्रायःजसो बन्द नै भएपछि नयाँ ठेक्का आह्वान गर्नुपरेको हो’, उनले भने । उनले प्रहरीको भान्सा कोठा नखोसिएको दावी गरे । उनीहरूले भान्सा सञ्चालन गरेको कोठा लिएकोमा अर्को कोठा दिइएको सूचना अधिकारी महतोले बताए । भन्छन्, ‘उहाँहरूको भान्सा कोठामा क्यान्टिनलाई खाना बनाउन दिने हाम्रो सोच हो । त्यसको साटो हामी उहाँहरूलाई छुट्टै भान्सा कोठाको व्यवस्था गरिदिन्छौं ।’
टिप्पणीहरू