घुस दिएपछि पोखरा–९ मा एकपक्षीय निर्णय
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ की वडासदस्य भावना श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीसहित पोखरा–२६ का रविकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा चलाएको हो।
वडासदस्य भावनाले न्यायिक समिति सदस्य रहँदा घुस खाएर रविकुमारको पक्षमा बाटो विवादको निर्णय गरेको अख्तियारको दाबी छ।
अख्तियारले भनेको छ, “तत्कालीन न्यायिक समिति सदस्य एवं पोखरा–९ की वडासदस्य भावना श्रेष्ठले महानगरको न्यायिक समितिमा विचाराधीन पोखरा–२६ को बाटो निकाससम्बन्धी विवादमा निवेदक रविकुमार श्रेष्ठको पक्षमा निर्णय गर्न गराउनका लागि निज श्रेष्ठसँग घुस–रिसवतबापत दुई लाख रुपैयाँ लिएको स्थापित भएको छ।”
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम दुई लाख रुपैयाँ बिगो कायम गर्दै दुवैलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ।
टिप्पणीहरू