आकाशतिर फर्केर नथुक्न एमाले महासचिवको सुझाव

आकाशतिर फर्केर नथुक्न एमाले महासचिवको सुझाव फाइल फाेटाे

अघिल्लो वर्षको असारमा सुशासनको नारा दिएर गठबन्धन बनाएका नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरू पछिल्लो समय आरोप–प्रत्यारोपमा उत्रिएका छन् । गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने नेताहरू सार्वजनिक सभामञ्चमै एकअर्काविरुद्ध खनिन थालेका हुन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले राजधानीमा अस्ति आयोजित एक कार्यक्रममा ‘जहाँ खाली जग्गा हुन्छ, त्यहाँ एमालेले आँखा लगाउँछ’ भन्दै एमालेमाथि गम्भीर आरोप लगाए । उनले गोकर्ण रिसोर्ट, पोखराको लिचीबारीदेखि गिरीबन्धु टीस्टेटसम्म एमालेको स्वार्थ जोडिएको दाबी गरेका थिए।

सत्ता साझेदार दलकै नेताबाट यस्तो आरोप आएपछि एमाले महासचिव शंकर पोखरेलले प्रतिवाद गरेका छन् । आज कञ्चनपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोइरालालाई आफ्नै अनुहारमा थुकको छिटा पर्ने अभिव्यक्ति नदिन सुझाए ।

पोखरेलले भने, ‘सरकारमा सामेल हुने अनि सरकारप्रति चाहिँ प्रतिपक्षी व्यवहार गर्ने राम्रो होइन। संस्थापनसँग हिस्साका लागि विवाद गर्ने तर सरकारका पक्षमा एक शब्द पनि नबोल्ने प्रवृत्ति नैतिक हिसाबले पनि अस्वस्थ छ।’

सत्ता गठबन्धन दलका प्रभावशाली नेताहरू सार्वजनिक रूपमा एकअर्काविरुद्ध व्यक्तिकेन्द्रित अभिव्यक्ति दिन थालेपछि सामाजिक सञ्जालमा पनि यसबारे चर्को बहस भइरहेको छ ।

टिप्पणीहरू