भुटानी शरणार्थी प्रकरणमा साक्षी झिकाउने आदेश

भुटानी शरणार्थी प्रकरणमा साक्षी झिकाउने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी झिकाउने आदेश भएको छ । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित विपक्षी रहेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले साक्षी झिकाउने आदेश गरेको छ ।

अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार आगामी भदौ ११ गते साक्षीहरुलाई उपस्थित गराएर बकपत्र गराउने आदेश भएको छ । जनआस्थासँग उनले भने, ‘मुलुकी फौजदारी संहिता, २०७४ को दफा ११२ बमोजिम बाँकी रहेका साक्षीहरुलाई उपस्थित गराएर भदौ ११ गते बकपत्र गराउनू भन्ने आदेश भएको छ ।’

सो प्रकरणमा रायमाझीसहित उनका छोरा सन्दिप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतिक थापालगायत ३० जना प्रतिवादी छन् । २०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझी पुर्पक्षका लागि थुनामा छन् ।  

खाँण भने धरौटीमा रिहा भएका हुन् । आगामी कात्तिकमा हुने रुपन्देही–३ को उपनिर्वाचनमा उनी नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने चर्चासमेत चलाइएको छ ।

टिप्पणीहरू