मध्यराति बालुवाटारमा प्रधानमन्त्रीको प्रश्नः विद्याजी नहुँदा के बितेको छ र पार्टीलाई ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्दै राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गराएका एमाले अध्यक्ष केपी शर्मा ओली थप कठोर हुँदै गएका छन् । साउन ४ गते च्यासलमा भएको तीन घण्टा लामो एकल वार्ताका क्रममा भण्डारीलाई पार्टी कार्यालयभित्र छुट्टै कोठा दिने आश्वासन दिएका उनले भोलिपल्टै केन्द्रीय समिति बैठकबाट सदस्यता खोस्ने निर्णय गराएका थिए । त्यसयता पार्टी र जनवर्गीय संगठनको विभिन्न तहका नेताहरूलाई पालैपालो बालुवाटार बोलाएर नाडी छामिरहेका ओलीले सातवटै प्रदेशका नेताहरूलाई बालुवाटार बोलाएर पूर्व राष्ट्रपतिको पछि नलाग्न निर्देशन दिएका छन् ।
गत शनिबार राति कर्णाली प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २२ जना केन्द्रीय सदस्य अध्यक्ष भेट्न प्रधानमन्त्री निवास पुगेका थिए । साँझ ६ बजेदेखि राति साढे ९ बजेसम्म चलेको छलफलमा ओलीले एक घण्टाजति अरुका कुरा सुनेर २ घण्टा प्रवचन दिए । त्यसक्रममा विद्याको पार्टीमा फर्किने सम्भवना अन्त्य भएको निश्कर्षमात्र सुनाएनन् विधान महाधिवेशनसम्ममा दुई जनाबीच कुनै सहमति हुनसक्ने भनी पार्टीपंक्तिमा चलेको चर्चालाई ठाडै खारेज गरिदिए ।
पूर्वराष्ट्रपतिको महत्वाकांक्षाका कारण पार्टीमा समस्या निम्तिएको बताउँदै केहीबेर आफ्ना कुरा राखेपछि ओलीले नेताहरूसँग ब्रिफिङ लिएका थिए । त्यसक्रममा अधिकांशले आफ्नो प्रशंसा गर्दै विद्याको निन्दा गरेपछि हौसिएका उनले पार्टी निर्णयको पक्षमा एकजुट हुन निर्देशन दिए । झापा विद्रोहको सन्दर्भबाट बोल्न थालेका ओली १ घण्टाभन्दा बढी त्यसैमा अल्मलिए ।
एमाले निर्माणमा आफ्नो स्थान सबैभन्दा माथि रहेको पुष्टि गर्न झापा आन्दोलनको पृष्ठभूमि खोतलेका उनले त्यसक्रममा रामनाथ दाहाल, राधाकृष्ण मैनाली, सिपी मैनाली र झलनाथ खनालहरूले खेलेको भूमिकाको चर्चा गरे । मैनाली दाजुभाइ र झलनाथलाई आफूले नै पार्टी काममा जोडेको दाबी ओलीको रह्यो । झापा विद्रोहका संस्थापक नेता मुकुन्द न्यौपाने र द्रोणाचार्य क्षेत्रीको भूमिकालाई अत्यन्त कमजोर आँक्दै दुवैलाई डरपोकको संज्ञा दिए– ‘द्रोणाचार्यलाई काम गरौँ भन्दा मलाई पुलिसले थुन्छ कि भन्ने डर लाग्छ, बाहिरै बसेर सपोर्ट गर्छु भने ।’
मुकुन्द राजनीतिक सुझबुझले भन्दा पनि परिस्थितिले आन्दोलनमा जोडिएको ओलीले बताएका थिए । अध्यक्षले मुकुन्दबारे बैठकमा भनेका कुरा एक नेताले सुनाए– ‘त्यसबेला तराईमा औलोको महामारी थियो । मुकुन्द न्यौपाने औलो रोगीको तथ्यांक संकलन गर्ने कर्मचारी थिए । त्यसबेला मधेसी र पहाडीको दंगा हुँदा औलो बिरामीको तथ्यांक लिन खटिएका उनलाई मधेसीले लखेटे । त्यसपछि भाग्दै जाँदा सिपी मैनाली भएको ठाउँमा पुगेछन् अनि बल्ल पार्टीमा जोडिएका हुन् ।’
यसरी आफ्नै पहलमा मान्छे जुटाएर पूर्व कोशी प्रान्तीय कमिटीसँग एकता गरेको प्रसङ्ग जोड्दै ओलीले आफूलाई मूल नेतृत्वकर्ताका रुपमा प्रस्तुत गरे । त्यसको सिलसिला जोड्दै अगाडि भने– ‘पार्टी भनेको त एउटा विराटनगरको कमल कोइराला भन्ने मास्टर, एउटा विराटनगरको भरतमोहन भन्ने मास्टर, धरानको डालु छायाँ भन्ने मास्टर अनि धनकुटाको सिटौला भन्ने मास्टर रहेछन् । शुक्रबार जम्मा भएर लोकल ठर्रा खाने ‘फ्राइडे क्लब’ रहेछ त्यो पार्टी ।’
कार्यकर्तालाई हौस्याउन अनेक किस्सा जोडेर हाँस्यशैलीमा भाषण गर्नसक्ने ओलीले तत्कालिन अवस्थामाथि कटाक्ष गर्दै भने– ‘उनीहरू रक्सीको तालमा एक जनाले भन्दा रहेछन्– भन्नुस् कमरेड, क्रान्ति कहिले हुन्छ ? अर्कोले एक वर्ष लाग्छ भन्दो रहेछ । यस्तो कुरा गर्नुहुन्छ, एक वर्षसम्म कोही पर्खन सक्छ ? ६ महिनामा गर्नुपर्छ भन्ने रहेछ अर्कोले । यसो भन्दै अर्को ठर्रा थप्ने गर्दा रहेछन् । पार्टी त यस्तो पो रहेछ !’
पहिलो कम्युनिष्ट प्रधानमन्त्री, जसले ०५१ सालमा गरेका कामको जस लिएर आज पनि एमाले चलिरहेको छ, उनीप्रतिसमेत घृणाभाव पैदा हुनेगरी ओलीले एउटा सन्दर्भ कोट्याएका थिए । ०२७ सालमा मनमोहन जेलबाट छुटेपछि आफूले क्रान्तिकारी लाइन लिन सुझाउँदा नमानेको दाबी गर्दै भने– ‘सिआइएले संसारभर १० हजार उग्र वामपन्थी पार्टी गठन गरेका छन्, त्यसमध्ये यी केटाहरू पनि प्रभावमा परिसकेका रहेछन्, सतर्क हुनु भनिएको छ भनेर मनमोहनले सर्कुलर पो पठाउनुभयो ।’
यसरी बिद्रोह गरेर झापा जिल्ला कमिटी बनाउन नेतृत्व गरेको आफूलाई हटाएर आरके मैनालीहरूले पार्टी कब्जा गरेको आरोप ओलीले लगाए । त्यसपछि ०३९ को विद्रोह, जबजको प्रतिपादन, ०५४ र ०७८ को विभाजनबाट पार्टीलाई जोगाउन आफ्नो निर्णायक भूमिका रहेको चर्चा गर्दै पुनः भण्डारीको सन्दर्भ जोडे । राजनीतिमा सक्रिय भएयता विद्याले निरन्तर अवसर पाइरहेको भन्दै उनीमाथि कुनै अन्याय नभएको बताएका थिए ।
‘विद्या भण्डारीलाई के पुगेको छैन ? के अन्याय भयो उहाँलाई ? पञ्चायतकालमा विद्यार्थी राजनीति गर्नुभएको हो । ०५० सालमा मदन भण्डारीको निधनपछि पार्टी राजनीतिमा आउनुभयो । दुईपटक राष्ट्रपति हुनुभयो, दुईचोटि मन्त्री, चारपल्ट सांसद हुनुभयो । दुईचोटि पार्टी उपाध्यक्ष बन्नुभयो, उहाँलाई के दिएको छैन पार्टीले ?’ अध्यक्षको भनाइ स्रोतले सुनायो, ‘झापा विद्रोहको सन्दर्भ निकाल्नुको कारण पनि मैले दुःख गरेर बनाएको पार्टीमा सँधै अवसर पाइरहेकै छ नि भन्न खोजेको हो कि भन्ने बुझिन्थ्यो ।’
माधवको नाम लिँदै विद्याको मानमर्दन
विद्या भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि कोट्याउँदै ओलीले त्यतिबेलै राजनीतिमा फर्कन मिल्दैन भन्ने कुरा स्पष्ट पारेको दाबी गरेका थिए । राष्ट्रपतिको उम्मेदवार चयनका सम्बन्धमा त्यसबेला पार्टीमा भएको छलफल स्मरण गर्दै भने, ‘माधवजीलाई राष्ट्रपति हुनुस् भनेर प्रस्ताव गरेको हो । उहाँले मेरो उमेर छ, सक्रिय राजनीति गर्ने हो, जान्न भनेर टक्टकिनुभयो । तपाईं सिनियर मान्छे हो, पहिला पनि चर्चा भएको थियो जानुस् भनेर धेरै आग्रह गर्दा पनि मान्नुभएन ।’
सक्रिय राजनीतिमा फर्किन नमिल्ने भएकै कारण माधवले आफ्नो प्रस्ताव स्वीकार नगरेको जिकिर रह्यो ओलीको । त्यसपछि आफ्नै जोडमा विद्यालाई राष्ट्रपति बनाएको खुलाउँदै भने, ‘माधवको भन्दा १० वर्ष कम उमेर छ विद्याजीको । त्यो बेलै स्पष्ट थियो नि, कि त जान्न भन्नुपथ्र्यो माधवले जस्तै ।’
लामो पृष्ठभूमि बाँधेर फेरि विद्याको राजनीतिक पुनरागमनप्रति आपत्ति जनाएका ओलीले प्रश्न गरे, ‘प्रथम राष्ट्रपति रामवरण यादव पार्टीमा सक्रिय नभए पनि कांग्रेस बनेर बस्नुभएको छ । विद्याजीलाई चाहिँ यहाँ आएर अहिले गरिहाल्नुपर्ने के छ र ? उहाँ नहुँदा के बितेको छ पार्टीलाई ?’,
केन्द्रीय समिति बैठकमा विद्याले अध्यक्षमा आँखा गाडेपछि सदस्यता खारेज गर्नुपरेको बताएका ओलीले त्यसअघि बालुवाटारमा भएको एउटा भेटवार्ताको सन्दर्भ सुनाएका थिए । विद्या बेइजिङ्ग जानुअघि भएको सो भेटमा नेतृत्वको विषयलाई लिएर दुई जनाबीच चर्काचर्की परेको थियो ।
चार घण्टा लामो छलफलको गुह्य कुरा खुलाउँदै ओलीले भने– ‘यहीँ बालुवाटारमा भेट हुँदा एकाएक मलाई नेतृत्व हस्तान्तरण गर्नुस् भन्नुभयो । हाकाहाकी अब तपाईंले छोड्नुपर्छ, म हुन्छु भन्नुभयो ।’ नेतृत्व हस्तान्तरणको सवाल ख्यालख्यालको कुरा नभएको भन्दै विद्यालाई दिएको जवाफ पनि ओलीले सुनाए । ‘नेतृत्व हस्तान्तरण तपाईंले राख्न दिएको वस्तु मैले फिर्ता गरेजस्तो हो र ? राष्ट्रपतिका हिसाबले तपाईंको एउटा स्थान होला तर राजनीतिमा त तपाईंभन्दा सिनियर साथीहरू हुनुहुन्छ नि, उनीहरूको कुरा सुन्नुप¥यो ।’
ओलीले यसअघि सार्वजनिक मञ्चबाट भने पार्टीमा आउने विषयमा विद्याले आफूसँग सल्लाह नगरेको दाबी गर्ने गरेका थिए । तर, आफ्नै अभिव्यक्तिको खण्डन हुनेगरी खुलेर कुरा गरेका उनले नेतृत्व हस्तान्तरण र विद्यासँगको चर्काचर्कीबारे थप खुलाए– ‘नेतृत्व भन्ने कुरा कार्यकर्तामा स्वीकार्यताको कुरा हो, म अहिले अध्यक्ष छु तर मलाई पनि मानेनन् भने रहिरहन्न ।’
रहर गर्दैमा पाइने भए आफू सातौँ महाधिवेशनमै अध्यक्ष हुनुपर्ने तर्क उनले गरे । तर, पार्टी सदस्यता नै खारेज गरेर विद्यालाई प्रतिष्पर्धामा आउनै बन्देज लगाएकोप्रति न बैठकमा कसैले कुरा उठाए, न ओलीले नै बताए ।
‘सबै कुरा डिस्क्लोज गरिदिउँ त म अहिले ?’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले निजी कुरालाई लिएर विद्या भण्डारीले राजनीति गरेको भन्दै चर्को असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन साउन ५ गते पोलिटव्युरो बैठकले सदस्यता नविकरण नगर्ने निर्णय गरेपछि भण्डारी अध्यक्षलाई भेट्न च्यासल पुगेकी थिइन् । भेटवार्तालगत्तै मिडियाहरूले ‘विद्याले बालुवाटार जान नमानेपछि च्यासलमा भेटवार्ता’ शीर्षकमा समाचार लेखेका थिए । तर, ओलीले भने यसलाई भंगालबाट गराइएको योजनावद्ध प्रचार भनेका छन् ।
विद्या आफैँले फोन गरेर भेटको मिति र स्थान तय गरेको तर बाहिर बालुवाटार नगएको भनी प्रचार गराइएको भन्दै उनले आपत्तिसमेत जनाएका थिए ।
‘५ गते केन्द्रीय कमिटीको बैठक थियो । उहाँले मलाई ४ गते बिहान फोन गर्नुभयो । एकचोटि भेटौँ न भनेपछि मैले हुन्छ भनें । उहाँ आफैंले ३ बजेतिर के छ तपाईंको भनेर सोधेपछि मैले हुन्छ म मिलाउँछु भने । उहाँले नै पार्टी अफिस नगएको धेरै भयो, उतै भेटौं भनेपछि मैले हुन्छ मेरो अफिसमा आउने कुरा स्वागत छ भनेको हो’, भेटवार्ताको पृष्ठभूमि खुलाउँदै भने, ‘तर, त्यसलाई उहाँले राजनीतिकरण गरेर बालुवाटार गइन भन्ने प्रचार गराउनुभयो । मैले फोन गरेको हैन, समय तोकेको पनि हैन, बालुवाटारको कुरा भएकै थिएन ।’
राष्ट्रपति भएका बेलासमेत भण्डारी धेरै पटक बालुवाटार र बालकोट धाएको खुलासा गर्दै ओलीले शीर्ष तहमा भएका यस्ता गोप्य कुरा बाहिर भन्नु अनैतिक हुने बताए । ‘के अब उहाँले बालुवाटारमा खुट्टो टेक्नुहुन्न त ? मैले अहिले यहाँ आउनु भने आउनुहुन्न त ? कतिचोटि राष्ट्रपति भएका बेला यहाँ आउनुभयो होला, बालकोट जानुभयो होला । सबैकुरा डिस्कोलोजी गर्दिऊँ त म अहिले ? तर गर्न मिल्दैन नेतहरूबीचमा भएका कुरा’, नेताहरुसँग ओली यसरी चर्किए ।
अनेक सन्दर्भ र पृष्ठभूमि जोड्दै निश्कर्षमा अध्यक्षले विद्यासँग सम्झौताको कुनै सम्भावना नरहेको प्रष्ट पारेको भेटमा सहभागी एक नेता बताउँछन् । ‘केन्द्रीय कमिटीले सदस्यता खोस्ने निर्णय नगरेको र पूर्वराष्ट्रपतिले पनि पत्रकार सम्मेलनमा नरम कुरा नै गरेको हिसाबले विधान महाधिवेशनसम्म पुग्दा कुरा मिल्नसक्छ भन्ने थियो, तर त्यसलाई अध्यक्षज्यूले खारेज गरिदिनुभयो’, उनी भन्छन् ।
विद्यापट्टी लागेका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको नाम लिएर ओलीले चर्को आक्रोश पोखेका थिए । यी दुई नेताले कहिल्यै पार्टीको पक्षमा नबोलेको र अहिले विद्यालाई उचालेर भाँडभैलो मच्चाएको तर्क पनि गरे । उनीहरूकै कुरा सुनेर विद्या आफूविरुद्ध लागेको दाबीसमेत गर्न भ्याए ।
‘यो दुई वर्षमा मैले हेरेको छु, माधव नेपालले पार्टी फुटाए, ममाथि यत्रो हमला भयो तर विद्याजीले कहिल्यै त्यसको विरोध गर्नुभएन । प्रचण्डले आज पनि केपी ओलीलाई प्रधान शत्रु भनेका छन्, तर उहाँ प्रचण्डको आलोचनामा एक शब्द बोल्नुहुन्न’, अध्यक्षको भनाइ उनै नेताले सुनाए, ‘भीम रावलले त्यत्रो दुःख दिए तर उल्टै समर्थनमा हुनुहुन्छ । उहाँले एउटा मान्छेको मात्र विरोध गर्नुहुन्छ त्यो हो, केपी ओली ।’
रमाइलो कुरा चाहिँ, अध्यक्ष ओलीले दुई घण्टा धाराप्रवाह बोलिरहँदा कसैले पनि बीचमा प्रश्न वा जिज्ञासा राखेनन् । बरु, त्यसअघि रिपोर्टिङकै क्रममा केही नेताले केन्द्रीय कमिटीको निर्णयको बचाऊ गर्दै पार्टीमा ओलीको विकल्प सोच्नसमेत नसकिने धारणा राखेका थिए ।
सबैभन्दा बढी ओलीको प्रशंसा गर्नेमा दैलेखका राजबहादुर बूढा, केन्द्रीय सदस्य इन्दिरा सन्ज्याल, विनोदकुमार शाह, सांसदसमेत रहेका रुकुम–पश्चिमका चन्द्रबहादुर बिक, दल फडेरालगायत थिए । उनीहरूले निकै मेहनतपूर्वक पूर्व राष्ट्रपतिको सदस्यता खोस्ने निर्णयलाई अध्यक्षको बोल्ड कदम भनी प्रशंसा गरे ।
ठकुरी शैलीमा हजुर हजुर लगाउँदै विनोदकुमारले अध्यक्षमा ओलीको विकल्प खोज्नु नै मूर्खता हुने बताएका थिए । ‘हजुरले जसलाई बनाउनुहुन्छ त्यसले नै धोका दिन्छ, यो एउटा पराकाष्ठा नै हो’, वरपर बसेकाहरू नै लज्जित हुनेगरी उनले यसरी चाकडीको गीत गाएका थिए ।
(जनआस्था साप्ताहिकको साउन १४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू