गुण्डा नियन्त्रण अपरेसन : अरू कति समातिएलान् ?

गुण्डा नियन्त्रण अपरेसन : अरू कति समातिएलान् ?

प्रहरीले दुई दिनयता राजधानीमा गुण्डागर्दीमा संलग्न दुई ठूला नाइकेलाई पक्राउ गरेको छ । बुधबार राति ‘सानुभाइ’ भनिने युवराज गुरुङ र गएराति ‘मिलन चक्रे’ भनिने मिलन गुरुङ पक्राउ परेका हुन् । उनीहरूसहित ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

यद्यपि ती सबै व्यक्ति गुण्डागर्दीमा संलग्न हुन् वा होइनन् भन्नेबारे पहिचानको प्रक्रिया भइरहेको बताइन्छ । गुण्डागर्दीमा संलग्नहरू यसरी धमाधम समातिँदै गर्दा प्रहरीले कस्तो अपरेसन चलाइरहेको छ ? भन्ने चासो स्वाभाविक रूपमा उठेको छ । एक उच्च प्रहरी अधिकृतका अनुसार काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा एउटा विशेष टिम गठन गरिएको छ । सोही टिमले खुलेआम गुण्डागर्दी गर्नेको सूची तयार गरी आवश्यक विवरण संकलन गरिरहेको उनले जनआस्थालाई जानकारी दिएका छन्।

‘गुण्डागर्दीलाई पूर्ण रूपमा निस्तेज पार्ने उद्देश्यले यो अपरेसन चलाइएको हो, “ती अधिकृतले भने, “अपरेसनमा अनुसन्धान (गुप्तचर)को समेत सहयोग रहेको छ । प्रारम्भिक चरणमा ५० जनाको सूची थियो, अहिले त्यो संख्या बढेको छ । खुलेआम गुण्डागर्दी गर्ने कोही पनि बाँकी रहने छैनन् ।’

प्रहरीले तयार पारेको सूचीमा रहेका व्यक्तिहरूको विवरण संकलनमा राष्ट्रिय अनुसन्धान विभागले सहयोग गरिरहेको बताइएको छ । ती अधिकृतका अनुसार, ‘समन्वयमै अपरेसन चलिरहेको छ । हालसम्म समातिएका सबै गुण्डाहरू सूचीमै रहेका हुन् । अझै पनि केही पक्राउ पर्ने क्रम जारी छ ।’

यसबीच समातिएका गुण्डाहरू राजनीतिक संरक्षणका कारण छुट्न सक्ने आशंका पनि कतिपयको छ । तर काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारी भन्छन्, ‘राजनीतिक शक्तिको आडमा छुट्ने सोच गर्नुहुन्न । कानूनले तोकेको कारबाहीबाट कसैलाई पनि बचाउन सकिन्न ।’

अधिकारीका अनुसार राजधानीका प्रमुख क्षेत्रहरू ठमेल, दरबारमार्ग, नयाँ बसपार्क, नयाँ बानेश्वर, कोटेश्वर आदि—मा गुण्डागर्दी गर्नेहरू अपरेसनको निगरानीमा छन्। ‘गुण्डागर्दीमा संलग्न रहेको प्रमाणका आधारमा ती सबैलाई पक्राउ गरिनेछ,’ उनले स्पष्ट पारे।

स्मरणरहोस्, जनआस्थाले प्रहरीको विशेष अपरेसनबारे हिजै समाचार प्रकाशित गरेको थियो।

टिप्पणीहरू