‘एउटा’ मात्र सबथोक हुँदैन, सत्य धेरै हुन्छन्

‘एउटा’ मात्र सबथोक हुँदैन, सत्य धेरै हुन्छन्

६ वर्षको हुँदा भूत देखेँ । त्यतिबेला मलाई त्यो देखिएको भूत नै सत्य थियो । ऊ सेतो पहिरनमा थियो, काठको कोलजत्तिकै अग्लो र बाँसुरी बजाइरहेको । त्यतिबेलाको सत्य ‘भूत’ दार्शनिकको तर्क र विज्ञानको उपलब्धिपछि असत्य ठहरियो । मेरा आँखाले होइन, दिमागले मात्र भूत देखेको रहेछ । भूत मेरो ‘बचपनको सत्य’ र ‘अहिलेको असत्य’ गरी यी दुइटा सत्य बनेका छन् । त्यसैले अदालतमा देखिएको साक्षीको सत्यलाई पनि जिरह गरेर परीक्षण गरिन्छ । विपक्षी वकिलले जिरह प्रश्न गरेर साक्षीको परीक्षण गर्छ । त्यो बेला मलाई साक्षी बनाएर अदालतमा सोधिएको भए ‘भूत देखेको सत्य हो’ भनी बकपत्र गर्ने थिएँ । अहिले सोधियो भने ‘त्यो भ्रम थियो’ भन्नु नै सत्य बोलेको ठहर्छ ।

अध्यात्मवादी अरविन्द घोषले सृष्टिकर्ता तथा जगत (ब्रह्माण्ड) दुवैलाई यथार्थ मान्छन् । चेतनाबाट जगतको सृष्टि हुने बताउँछन् । उनले निराकार चेतनालाई अन्तिम सत्य मानेका छन् । उनी ब्रह्माण्ड र सृष्टिकर्ता एउटै सत्यका दुई अभिव्यक्ति हुन् भन्छन् । आदि शंकराचार्य भने जगतलाई मिथ्या र ब्रह्मलाई मात्र सत्य मान्दछन् । यो विचार अठारौँ शताब्दीका दार्शनिक बक्र्लेको आइडियलिज्मसँग पनि मिल्दोजुल्दो छ । मैले ‘भूत’ विपनामै देखेको हुँ— त्यो सपना थिएन तर त्यो सत्य पनि थिएन । सिग्मण्ड फ्रायड मानव मस्तिष्कको पूर्वचेतना, तर्क, र विश्लेषण सपनामा व्यक्त हुने जनाउँछन् । उनको मनोविज्ञानको व्याख्या र शंकराचार्यको ‘जगत मिथ्या’ को मायाजाल मिल्दोजुल्दो देखिन्छ ।

आमाहरू जम्मा भएर रमाइलो गर्दै तोरी पेल्न कोलमा हुनुहुन्छ भन्ने मेरो अनुमान थियो । तर, त्यहाँ पुग्दा सुनसान देखियो । म पुगेको कोलमा उहाँहरू हुनुहुन्थेन । तेल बढी आउने अर्को कोलमा जानुभएको रहेछ । भूत ठूलापँधेरामाथिको कोलमा देखिएको थियो, तर मलाई मात्र । उसलाई देख्ने त्यहाँ अरू कोही थिएन । कोल हजारौँ वर्षदेखि तेल पेल्न प्रयोग गरिने काठको मेसिन हो । पानी घट्ट (टर्बाइन) र आधुनिक इञ्जिनयुक्त कोलको प्रचलनपछि त्यो हराउँदै गयो । प्रचलनमा नभए पनि कतै–कतै काठको कोल अझै भेटिन्छ । म डराएर घरतिर दगुरेपछि त्यो भूत तुरुन्तै हरायो । तर, त्यो दृश्य अझैसम्म मेरो दिमागमा गडिएको छ । भूतको त्यो डर किशोरवस्था पार गर्दा पनि हटेको थिएन । सबै जना घरको तल्लो तलामा छन् र मलाई माथि कोठामा जानुपर्‍यो भने अँध्यारोमा भूतको डर लाग्थ्यो । डर अरूले नदेखुन् भनेर लुकाउँथेँ । उज्यालो भएपछि मात्र ढुक्क हुन्थेँ—‘भूत रहेनछ ।’ तर अहिले ‘भूत हुँदैन’ भन्ने विश्वास भएपछि, ‘सत्य एउटा हुँदैन रहेछ’ भन्ने निचोडमा पुगेको छु । त्यो देखिएको ‘तथ्य’ पनि सत्य होइन रहेछ ।

कुनै नयाँ विषयमा पहिले दिमागमा जे छ, त्यसै आधारमा हामी धारणा बनाउने रहेछौँ । जर्मन दार्शनिक इम्मानुएल काण्टको यो भनाइमा न्यूरो–फिजिसिस्ट रिचर्ड ग्रेगरीले सहमति जनाएका छन् । बीसौँ शताब्दीका थामसकुहन पनि हाम्रो दृष्टिकोण पूर्वज्ञानमा भर पर्छ भन्छन् । भूतलाई मैले पहिलो पटक देखेको थिएँ । उसलाई देख्नुअघि दिदीले सुनाएका कथाहरू दिमागमा थिए । दिदीले जस्तो भूतको वर्णन गर्नुभएको थियो, मैले त्यस्तै भूत देखेको थिएँ ।

तर, सबै तर्कको चुरो कुरो चेतनाको स्रोतमा बल्झिन्छ—चेतना कहाँबाट उत्पन्न हुन्छ ? चेतना के हो ? भन्ने कुरा वैज्ञानिक अनुसन्धानकै विषय हो । त्यही बिन्दुबाट प्रश्न उठ्छ—सत्य एउटा मात्र हुन्छ कि धेरै हुन्छन् ? अरविन्दको सत्य र शंकराचार्यको सत्य फरक छन् भने सत्य पनि धेरै भए । यद्यपि, दुबैमध्ये एक गलत छन् भन्ने प्रमाणित गर्न सकिएमा मात्रै ‘सत्य एउटा हो’ भन्ने निचोड निकाल्न सकिन्छ । आध्यात्मिक धारणा बनाएर खोज र जिज्ञासालाई रोक्न सकिन्छ—सृष्टिकर्ताको जिम्मा लगाएर चुप बस्न सकिन्छ । तर प्राज्ञिक जिज्ञासाको पक्षधरका लागि ‘धेरै असहमतिबीच सहमति बनाउँदै उत्तर खोज्ने कार्य’को विकल्प छैन । त्यसैले प्राज्ञका लागि सत्य धेरै वटा हुनुपर्छ ।

दयानन्द सरस्वतीले पनि ‘मान्छेको जति ज्ञान छ, त्यसकै अनुपातमा धारणा बनाउँछ‘ भन्ने तर्क गरेका छन् । ज्ञानको कमीले गलत धारणा बन्ने उनको निचोड छ । उदाहरणका लागि, मलाई दिदीले सुनाएको कथाको ज्ञानले गर्दा भूत देखिएको थियो । दयानन्दको अवधारणा बेलायती उपनिवेशबाट भारतलाई स्वतन्त्र गराउने संघर्षको सन्दर्भमा बनेको हो । धार्मिक भावनामा भारतीयलाई एकजुट पारेर संघर्षमा उतार्ने उद्देश्यसहित उनले धारणा बनाएका थिए । त्यसैले त्यस कालखण्डका सनातन परम्परावादीले गीताको ‘कर्म गर तर फलको आशा नगर’ भन्ने श्लोकलाई धर्मको आधार मानेर व्याख्या गरेका छन् ।

बेलायती उपनिवेशअघिका सनातनी परम्परामा शास्त्रार्थहरू मोक्ष प्राप्तिमा केन्द्रित देखिन्छन् । ऋग्वेदमा खुशी र सुखी समाज बनाउनुपर्ने कर्तव्यहरूको व्याख्या गरिएको छ । उमेरअनुसार आश्रमहरूमा विभाजन, गृहस्थ जीवनमा पारिवारिक सुखका कर्तव्यहरू तोकिएको छ । रामायण र महाभारतका आदर्श पात्रहरू पारिवारिक संरचनामा भेटिन्छन्— जस्तै : कौरव, पाण्डव, राम र सीता । कर्तव्यले थिचिएका एक्ला भीष्मपितामहको वियोगको सन्देश नै उक्त ग्रन्थको भाव हो भन्ने बुझिन्छ । उता बुद्ध भने भैरहेको परिवार र सुख छाडेर दुःख हटाउने ज्ञानको खोजीमा परिवारविहीन जीवनमा भौंतारिएका देखिन्छन् ।

बुद्धका लागि अरूको दुःख दूर गर्न परिवार त्याग्नु नै सत्य मार्ग बन्यो । अरू धेरैजसो धर्मका गुरू भने पारिवारिक सुखका आदर्श ज्ञानलाई नै सत्य मान्दछन् । माक्र्स–लेनिन समाजवादी समाजको परिकल्पनालाई सत्य मान्छन् । माओत्से–तुंगले ‘नौलो जनवादी क्रान्ति’ लाई नै सत्य माने । अल्बर्ट कामु र जाँ–पल सात्र्रले जीवन निरर्थक भए पनि स्वतन्त्र हुन मान्छेले विद्रोहको कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने मान्यता (सत्य) राखे । बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादलाई सत्य माने । पुँजीवादी अर्थतन्त्रलाई सुधार्दै कम्युनिष्टको आलोचना गर्नु पश्चिमी मूलधारको सत्य हो । ट्विनटावरमा विमान ठोक्काउनेजस्ता आतंकवादबाट इस्लामिक विश्व खडा गर्नु बिन लादेन पक्षधरको सत्य हो । त्यसैले जुन व्यक्तिले जे कुरामा विश्वास गर्छ, त्यसका लागि त्यही नै सत्य हुन्छ । विश्वमा धेरैका फरक–फरक सत्य छन् ।

अरूले मानेको सत्यलाई आफ्नो सत्यमा दखल नपुर्‍याएसम्म स्वीकार गर्न सक्नुपर्छ । फरक–फरक सत्यको जगमा मिलिजुली बसेको समाज सुन्दर हुन्छ । त्यसैले अरूले मानेको सत्यलाई सम्मान गर्नु—प्राज्ञिक जगतको कर्तब्य हो ।

टिप्पणीहरू