चङ्चौ घोषणापत्र जारी,गलत सूचनाविरुद्ध साझा रणनीति

चङ्चौ घोषणापत्र जारी,गलत सूचनाविरुद्ध साझा रणनीति

हेनान प्रान्तको राजधानी चङ्चौमा सञ्चार सहकार्य र सूचनाको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सांघाई सहयोग संगठन (एससिओ) मिडिया एण्ड थिंक ट्यांक सम्मेलनको क्रममा ‘चङ्चौ घोषणापत्र’ पारित गर्दै सहभागीहरूले गलत सूचनाविरुद्ध साझा रणनीति आवश्यक रहेकोमा जोड दिएका छन्।

हेनान प्रान्तका गभर्नर वाङ काइले सम्मेलनको औपचारिक उद्घाटन गरेको सम्मेलनलाई नेपाली प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित १५ जना विदेशी तथा स्वदेशी अतिथिहरूले उद्घाटन सत्रमा सम्बोधन गरेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार विभागका उपनिर्देशक मा काओयी, सिन्ह्वा समाचार समितिका अध्यक्ष फु हुआलगायत वक्ताहरूले क्षेत्रीय मिडिया सहकार्यलाई विस्तार गर्न आग्रह गरे।

दुई दर्जनभन्दा बढी मुलुकका करिब २०० विदेशी तथा यति नै संख्यामा चिनियाँ सञ्चारकर्मीहरू सम्मेलनमा सहभागी थिए । नेपालबाट पूर्वराजदूत लीलामणि पौड्याल, गोरखापत्र,रासस,जनआस्था, पिपुल्स रिभ्यु,न्युज एजेन्सी नेपाल तथा चीन अध्ययन केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।

सम्मेलनमा एससीओ सदस्य, पर्यवेक्षक तथा संवाद साझेदार राष्ट्रहरूका सञ्चारकर्मी, विश्लेषक र सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विशेषगरी क्षेत्रीय राष्ट्रबीच सूचना सहकार्य, गलत सूचना नियन्त्रण, नीति संवाद र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनको दोस्रो सत्रमा विश्वसनीय सूचना प्रवाह, अनुसन्धान साझेदारी, र सञ्चारकर्मीबीच प्रत्यक्ष संवादका माध्यमहरूको प्रवर्द्धनसम्बन्धी विषयमा छलफल भएको छ ।

एससीओ सचिवालय, सिन्ह्वा समाचार समिति र हेनान प्रान्तीय जनसरकारको सहकार्यमा आयोजित सम्मेलनलाई मिडिया कूटनीतिका दृष्टिले महत्वपूर्ण मानिएको छ। आगामी सेप्टेम्बरमा थ्येनचिनमा हुने एससीओ शिखर सम्मेलनअगाडि आयोजना गरिएको यो सम्मेलनले सदस्य राष्ट्रहरूबीच बौद्धिक र सूचना साझेदारीमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

यसअघि सन् २०२२ मा छिन्ताओ र सन् २०२४ मा सांघाइमा यस्तै प्रकृतिका सम्मेलन सम्पन्न भइसकेका छन्। राजनीतिक, आर्थिक, शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सहकार्यलाई प्रवर्द्धन गर्न यस्ता सम्मेलनहरूलाई दीर्घकालीन रणनीतिक साझेदारीको माध्यम बनाउने प्रयास भइरहेको छ।

टिप्पणीहरू