सडक ढलानमा भ्रष्टाचार, पूर्वउपमेयर संलग्न
धनुषाको हंसपुर नगरपालिकाकी पूर्वउपमेयर रेणुदेवी झा भ्रष्टाचारमा तानिएकी छन् । सडक ढलान योजनामा भ्रष्टाचार गरेको आरोपमा उनीसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
मुद्दा चलाइएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इञ्जिनियर दिनेशकुमार मण्डल, खरिदार शत्रुघ्न साह र ज्ञानेन्द्रकुमार झा, लेखापाल नेत्र लुँगेली, सबइञ्जिनियर विनोदकुमार मण्डल र देव कन्स्ट्रक्सनका प्रोप्राइटर शुभचन्द्र मण्डल छन् ।
आर्थिक वर्ष २०७६–०७७ को नगरसभाबाट स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा नम्बर ५, स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान कार्यका निम्ति बजेट विनियोजन गरिएको थियो ।
उनीहरुको मिलेमतोमा गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी वास्तविक भएको कामभन्दा बढी रकम भुक्तानी दिएको पाइएको अख्तियारको आरोप छ ।
आयोगले ५२ लाख ७२ हजार १६८ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम सो रकम जफत गरी कैद र जरिवाना सजाय हुन माग गरेको छ ।
टिप्पणीहरू