सिंहदरबारमा मलेसियन व्यापारीसँग अर्थमन्त्रीको वार्तालाप

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) को प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ।

अर्थमन्त्रीलाई भेट्न परिषद्को टोली आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेको थियो । भेटवार्तामा सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको बताइएको छ ।

मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा नेतृत्वको टोलीमा डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत थिए । अर्थमन्त्री भेटेपछि कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । 

अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो ।

एमएनबीसीको टोलीले हिजो नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वकर्ताहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको जानकारी गराइएको छ । त्यसअघि टोलीले नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेटवार्ता गरेका थिए ।

टिप्पणीहरू