बालेनका फौजद्वारा सुरक्षा सामग्री ‘कपी’

बालेनका फौजद्वारा सुरक्षा सामग्री ‘कपी’

गृह मन्त्रालयको निर्देशनविपरीत नेपाली सेनाको जस्तै पोशाक प्रयोग गर्दै आएको काठमाडौं महानगर प्रहरी बलले सुरक्षा सामग्री पनि ‘कपी’ गरेको छ ।

आत्मसुरक्षाका लागि भन्दै बलले हिजो नगर प्रहरीलाई विभिन्न सामग्री वितरण गरेको छ । जसमा हेल्मेट,लाठी,सिल्ड रहेको छ । 

त्यसैगरी, ‘केएमसी पुलिस’ लेखिएको बुलेट प्रुफ ज्याकेट पनि उपलब्ध गराइएको छ । कार्यसम्पादनका क्रममा कहिलेकाँही अप्ठेरो अवस्था आउने हुँदा ती सामग्री दिइएको बलले जनाएको छ । बुलेट प्रुफ ज्याकेट भिरेर हातमा सिल्ड र लाठी बोकेका नगर प्रहरी ठ्याक्कै प्रहरीजस्तै देखिएका छन् । यसले गर्दा आम सर्वसाधारणमा भ्रम सिर्जना हुने सम्भावना बढेको छ ।

अदालती आदेशबाट टिकेका महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले सेनाको पोशाकसँग मिल्ने पोशाक लगाउँदै आएका छन् । उनले चढ्ने गाडी पनि सेनाको जस्तै छ । गृहले गत असोज १४ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षाकर्मीको पोशाक र दर्ज्यानी चिन्हसँग मिल्दोजुल्दो हुनेगरी सरकारी वा गैरसरकारी निकाय र संघसंस्थालाई पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।

असोज १५ गते प्रहरी मुख्यालयले कसैले पोशाक र दर्ज्यानी चिन्ह ‘कपी’ गरेमा कारबाही गर्न भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । महानगर प्रहरीले अहिले पनि सोही पोशाक प्रयोग गरेर गृहको निर्देशन लत्याएको छ ।

टिप्पणीहरू