बालेनकै पिताले अन्यत्र ओसारेछन् ‘चन्द्रनिघन्टु’

बालेनकै पिताले अन्यत्र ओसारेछन् ‘चन्द्रनिघन्टु’

 कुनै जमानामा मुलुककै प्रतिष्ठित र दक्षिण एशियामा नाम कमाएको सिंहदरबार वैद्यखानाको हालत दयनीय भएको छ । राजधानी काठमाडौंको मुटुमा रहेको वैद्यखानाको ‘मुटु र फोक्सो’ यसअघि नै त्यहाँका हर्ताकर्ता र जिम्मेवारले बेचेर खाएको चर्चा फेरि चलेको छ । मेयर बालेन साहका पिता आयुर्वेदिक डाक्टर रामनारायणले सेटिङमा नियुक्ति लिएर सेटिङमै काम फत्ते गरेको आरोप छ ।

नरदेवी अस्पतालमा कार्यरत रामनारायण एकाएक सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक बनेका थिए । गिरिजाप्रसाद कोइरालासँग पारिवारिक चिनजानमा रहेका प्रबन्ध निर्देशक प्रोफेसर डा. चन्द्रराज सापकोटालाई हटाएर साहले उक्त जिम्मेवारी लिएका हुन् । सापकोटाले दुई कार्यकाल पूरा गरिसकेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री शरदसिंह भण्डारीको सचिवालयले पुनः नियुक्तिका लागि ‘थैली’ मागेपछि बागलुङका सापकोटा ‘चाहिएन‘ भन्दै पन्छिए ।

साहले मोटो रकम बुझाएर नियुक्ति लिएको सन्दर्भ केही समयअघि आयोजित एक सार्वजनिक कार्यक्रममा उनैका छोरा बालेनले घुमाउरो तरिकाबाट स्विकारे । गत कात्तिकमा वैद्यखानाको वार्षिकोत्सव समारोह हुँदा अतिथि रेहका उनको मन्तव्यको अंश उद्धृत गर्दै एकजना सहभागीले भने, ‘एमडी नियुक्त हुन पैसा खुवाउनुपर्छ । त्यसरी नियुक्त भएकाले पैसा उठाउनतिर लाग्नै पर्‍यो । अनि संस्थाको हालत यस्तो भएको छ ।’ उनले वैद्यखानाको भौतिक र आर्थिक दुरावस्थाप्रति इंगित गर्दै यसो भनेका हुन् ।

तर, उनैका पिताले वैद्यखानाको हाकिम भएपछि औषधि उत्पादनका लागि अघिल्ला हाकिम सापकोटाको कार्यकालमा ठड्याइएका धेरैवटा भवनमध्ये एउटालाई आफ्नो निवासको रुपमा परिणत गराए । परिवारका अरु सदस्यझैँ मेयर साह स्वयम् पनि त्यही भवन र वैद्यखाना परिसरमा उफ्रिँदै हुर्किए । रामनारायणले नै पहिलो पटक वैद्यखानामा परिवारसहित हाकिम बस्ने प्रचलन बसालेका हुन् । 

झण्डै चार सय वर्षअघि राजा प्रताप मल्लका जेठा छोराको निधनपछि उनले भावविह्वल रानीलाई सम्झाउँदै वि.सं. १६९८ मा वैद्यखाना स्थापना गर्न लगाएका थिए । राजकुमार छोराको निधन अहिले टाइफाइड भनिने त्यो बेलाको शितला रोगबाट भएको थियो । जनताका छोराछोरीले आफ्ना राजकुमारलेझैँ उपचारको अभावमा मर्न नपरोस् भनेर राजाले वैद्यखाना खोल्न लगाएको ऐतिहासिक अभिलेखमा पाइन्छ ।

पछि चन्द्रसमशेरको पालामा नेपालका सबैजसो दिग्गज वैद्यहरु भेला गराएर आयुर्वेदिक उपचारको एउटा ‘म्यानुअल’ अर्थात् ग्रन्थ बनाइयो । ‘चन्द्रनिघन्टु’ भनिने उक्त ग्रन्थमा कुन रोगमा, कुन औषधि, कति मात्रा दिने, कति दिनसम्म खाने भनेर लेखिएको छ । बेलाबखत विशेष अनुसन्धानपछि थपघट गरिने तस्बिरसहितको उक्त हस्तलिखित ग्रन्थ आयुर्वेदिक दुनियाँमा विश्वकै दुर्लभ हो । दक्षिण एशियाकै उत्कृष्ट वैद्यखाना भएकाले त्यतिबेला भारतबाट पनि आयुर्वेदिक औषधि किन्न आउँथे । नेपालको जडीबुटी राम्रो भएकाले भारतीयहरुमा यहाँको औषधिप्रति भरोसा बढी थियो ।

चन्द्रसमशेरले लालमोहर लगाएको ‘चन्द्रनिघन्टु’ प्रति भारतीय वैद्यहरुले त्यतिबेलै आँखा लगाएका थिए । काठमाडौंमा वीर अस्पताल बनाउनुअघि भारतीय अधिकारीहरुले उक्त आयुर्वेदिक ग्रन्थ अर्थात् ‘चन्द्रनिघन्टु’ हात पार्न निकै कोशिस गरे तर सफलता प्राप्त भएन । उक्त असफलता बालेनका पिता प्रबन्ध निर्देशक भएपछि बल्ल सफलतामा परिणत भएको हो । यताको गोप्य दस्तावेजको सबै विवरण उताका आयुर्वेद चिकित्सकहरुले प्राप्त गरेपछि नेपालको वैद्यखाना क्रमशः ओरालो लागेको बताइन्छ ।

काठमाडौंमा रहेका मित्रराष्ट्रका कतिपय कूटनीतिक कर्मचारीमार्फत् साहले ‘चन्द्रनिघन्टु’ को प्रतिलिपि उपलब्ध गराएको सबैलाई थाहा भए पनि घटनाको अनुसन्धान र कारबाही केही भएन । विभिन्न कारणले गर्दा पछिल्लोे समय अखिल भारतीय आयुर्वेद संस्थानको हात स्वतः माथि परेको धेरै घटनाक्रमले पुष्टि गरिसकेको छ । सिंहदरबार वैद्यखाना भने थचक्कै बसेको अवस्थामा पुगिसकेको छ ।

यता, प्रोफेसर डाक्टर चन्द्रराज सापकोटालाई भने पछिल्लो समय वैद्यखानाको स्तरोन्नती र आधुनिकीकरणमा विशेष योगदान पुर्‍याएका हाकिमको रुपमा कर्मचारीहरुले सम्झने गरेका छन् । बागलुङका सापकोटाले बनारस हिन्दु युनिभर्सिटीमा अध्ययन गरेका थिए । उनी विपी पुत्र सशांक कोइरालाका सहपाठी हुन् । लामो समयका दौंतरी सापकोटा मेडिकल चिकित्सातिर लागे भने सापकोटा आयुर्वेदतिर ।

नरदेवी अस्पतालमा कार्यरत सापकोटाको भतिजसँगको घनिष्ठ सम्बन्धका कारण काका गिरिजाप्रसाद कोइरालासँग पनि २०४८ पछि निकट सम्बन्ध कायम भयो । कोइराला प्रधानमन्त्री हुँदा नियुक्त भएपछि उनले त्यो बेला वैद्यखानालाई वार्षिक १२ करोड रुपैयाँको औषधि उत्पादन र बिक्री गर्ने हैसियतमा पु¥याएको अभिलेख छ । उनैको पालादेखि सिंहदरबार वैद्यखानाले तुलसी चिया उत्पादन गरेर सरकारी अफिसमा प्रचलन गराएको त्यसबेलाका सचिव, सहसचिवहरु बताउँछन्।

उक्त चियाको कच्चा पदार्थका लागि नवलपरासीको डण्डा खोला वरपर ८ बिघा जग्गा भाडामा लिइयो । त्यहाँ उत्पादित तुलसीको पत्ता काठमाडौं ल्याएर चिया बनाइन्थ्यो । त्योलगायतका काममा सापकोटा निरन्तर खटेको परिणाम साहको नेतृत्वपछि धुलोमा विलीन भएको त्यहाँका पुराना कर्मचारीहरुको भनाइ छ ।
 
 

टिप्पणीहरू