एमालेको बेइज्जत नगर्नू : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ले ०६४ फर्काउने कुरा गरेर सपना देखिरहेको टिप्पणी गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अधिवेशनलाई सम्बोधन गर्दै उहाँले ०८४ मा बहुमत ल्याउने माओवादीको दावीप्रति यस्तो प्रतिक्रिया दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले समेत ०८४ मा बहुमत ल्याउने दावी गरे पनि एमालेले नै बहुमत ल्याउने जिकिर गर्नुभयो । ‘हामीसँगै सहकार्य गरिरहेको कांग्रेसले पनि ०८४ मा बहुमत ल्याउछौँ भनिरहेको छ, तर बहुमत कसले ल्याउछ, त्यतिबेला नै थाहा होला’, उहाँले भन्नुभयो, ‘कतिसम्म भने उता माओवादीका अध्यक्ष प्रचण्डले समेत ०६४ को लहर आइसक्यो भनेर के के सपना देख्न थालेका छन्, त्यो सपना मात्रै हो अब ।’
प्रधानमन्त्री ओलीले अनेरास्ववियुलाई व्यवहारबाट समाजमा स्थापित गर्न विद्यार्थी नेताहरुलाई निर्देशन पनि दिनुभयो । ‘तपाईंहरु कुनै बसमा यात्रा गर्दामा तपाईंको बोली, वचन र व्यवहारबाट अरुले अनेरास्ववियुको मान्छे रहेछ भनेर चिनुन्’, उहाँले उदाहरणसहित अघि थप्नुभयो, ‘तर व्यवहार चाहीँ राम्रो नहुने, अनि कार्ड देखाएर म अनेरास्ववियु हुँ भन्ने, त्यस्तो बेइज्जत नहोस् ।’
अनेरास्ववियुको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
टिप्पणीहरू