कसुर एउटै, कानुन कार्यान्वयन बेग्लै

कसुर एउटै, कानुन कार्यान्वयन बेग्लै

नेपालीमा एउटा उखान निकै प्रचलित छ,‘सानालाई ऐन, ठूलालाई चैन ।’ मुलुकमा कानुन कार्यान्वयनको अवस्था र सो उखान एकापससँग मिल्दोजुल्दो छ । कानुन सबैलाई समान हुनुपर्छ । जसले कानुन तोड्छ, उसलाई प्रचलित नियमानुअनुसार कारबाही गरिनुपर्छ । तर, एउटै कसुरमा आम नागरिकलाई जेल कोचेर पहुँचवालालाई उम्काउने खेल भएको देखिन्छ । 

सार्वजनिक स्थानमा हतियार देखाउनु अपराध हो । यद्यपि, नेताहरुले पछिल्लो समय खुलेआम हतियार प्रदर्शनी गर्न थालेका छन् । हतियार ‘शो’ गरेर सार्वजनिक शान्ति खलल बनाइरहँदा उनीहरुमाथि कारबाही हुन सकेको छैन । पहुँचवालाको अगाडि कानुन नै निरीह देखिएको छ । 

यसको पछिल्लो उदाहरण नेकपा एमालेद्वारा राजधानीमा जेठ १५ गते आयोजित प्रदर्शन हो । गणतन्त्र दिवसको अवसरमा एमालेले तरबारसहित आफ्ना नेता–कार्यकर्तालाई सडकमा उतारेको थियो । ‘जन उत्सव’ को नाममा एमालेले राजधानीमा हतियारसहित प्रस्तुत गरेर सार्वजनिक शान्तिमा आँच पुर्याउने काम गरेको हो । 

सरकारको नेतृत्व गरेको पार्टीले तरबारसहित प्रदर्शन गरेपछि चर्को विरोध भएको थियो । ऐन कानुनको बर्खिलाप गरेको भन्दै सर्वसाधारणले कडा आलोचना गरेका छन् । एमालेको उक्त कार्यप्रति विरोधजन्य कमेण्टले सामाजिक सञ्जाल भरिएको छ । संवैधानिक अधिकारको धज्जी उडाइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता भिमप्रसाद काफ्लेले घोर आपत्ति जनाएका छन् । ‘तरबार देखाएर जनता तर्साउँदा राष्ट्रिय मानव अधिकार आयोग किन मौन ?’ उनले प्रश्न सोधेका छन् ।

‘बिना हातहतियार भेला–जुलुस, आन्दोलनमा सम्मिलित हुन पाउने संवैधानिक अधिकारलाई मिचेर देशका प्रधानमन्त्री ओलीले राष्ट्रवादीहरुलाई निष्तेज पार्न जसरी भन्नुहुन्छ, बिहान ११ देखि दिँउसो २ बजेसम्म काठमाडौंलाई एमालेको कब्जामा लिनु भन्ने आदेश पालना गर्न एमाले कार्यकर्ताहरु खुलेआम तरबार, खुडा, लठ्ठी, भाला, खुकुरी आदि लिएर जुलुसमा आएको के संविधानसम्मत छ ? कि सत्तामा बसेको जसले जे आदेश दिन्छ त्यो संविधानसम्मत हुन्छ । मानव अधिकार किन चुप ?’,उनको सोधनी छ ।

तरबार प्रदर्शनीको एक महिनाअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) की नेतृ डा.बबी सिंह यादवले सामाजिक सञ्जालमा पेस्तोल नाच देखाएकी थिइन् । गत वैशाख १८ गते पेस्तोल पड्काउँदै नाचेको भिडियो एकाएक भाइरल भयो । ‘पेस्तोल डान्स’ गरेकी उनलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले सोधपुछका लागि बोलाएको बताइन्छ ।  

सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गर्यो । अनुसन्धानका क्रममा उनले वैशाख ११ गते वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको थियो । जबकि, भिडियो भाइरल भएपछि नेतृ सिंहले भारतको सीतामढिको घटना भएको दाबी गर्दै खेलौना पेस्तोल भएको बताइन् । 

सो पेस्तोल बारुद मात्रै पड्किने किसिमको भएको बताउँदै प्रहरीले उनलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा छाडेको हो । 

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष, सांसद एवं पूर्वमन्त्री अब्दुल खानले पनि हतियार प्रदर्शनी गरेका छन् । उनले दायाँबायाँ हतियारधारी राखेर फोटो खिचाएको तस्बिर निकै चर्चामा आएको थियो । जनमतको रौतहट जिल्ला इञ्चार्ज शेख जमशेदसहितको समूहले हतियारसहितको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । 

खान गौर नगरपालिकाको सबगढास्थित जमशेदको घरमा भेटघाट गर्न पुगेका थिए । उनको स्वागत ती बन्दुक बोकेका हट्टाकट्टा युवकले गरे । तस्बिरमा नेता खान प्लास्टिकको कुर्सिमा बसेको देखिन्छ । छेउमा ती युवकलाई बन्दुक बोकाएर उभ्याइयो । हतियार देखाएर आतंक फैलाएको भन्दै सर्वत्र विरोध भएपछि जमशेदले बन्दुकसहित खिचिएको फोटो र भिडियो फेसबुकबाट डिलिट गरेका हुन् । 

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय राजनीतिक दलका नेताहरु हतियार प्रदर्शनमा शौखिन देखिएका छन् । हतियार प्रदर्शनी गर्नुलाई उनीहरुले आफ्नो शान ठान्न थालेका छन् । जसका कारण सुरक्षाका लागि भनेर राखेको लाइसेन्सप्राप्त हतियारको दुरुपयोग ह्वात्तै बढेको छ । जबकि, लाइसेन्सप्राप्त हतियार पनि सार्वजनिक स्थलमा प्रदर्शनी गर्न पाइँदैन । 

हातहतियार खरखजाना ऐन, २०१९ को दफा २२ मा लाइसेन्सको शर्त उल्लङ्घन गरेमा हुने सजायबारे उल्लेख छ । जसमा भनिएको छ,‘कसैले लाइसेन्सको शर्त वा नियम उल्लंघन गरी काम गरेमा निजलाई तीन महिनासम्म कैद वा सात सय पचास रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ तर, पहुँचवालाहरुले शर्तको धज्जी उडाउँदा पनि नियामक निकायले कारबाही गर्न नसकेको विडम्बनापूर्ण अवस्था छ । 

पहुँचवालालाई छुट, सर्वसाधारणलाई जेल

असली हतियार प्रदर्शनी गर्दा पहुँचवालाहरुले कानुनबाट उन्मुक्ति पाइरहँदा सर्वसाधारण भने नक्कली हतियारका कारण जेलको चिसो भुइँमा पुगेका छन् । गत वैशाख ७ गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, महादेवा निवासी २१ वर्षीय रघुविन्द यादव पक्राउ परेका थिए । टिकटक अकाउण्टबाट पेस्तोलसहितको हतियार प्रदर्शन गरेको आरोपमा उनलाई समातिएको हो । 

अनुसन्धानको क्रममा सो ‘गन लाइटर’ भएको खुल्यो । पेस्तोल जस्तै देखिने सो हतियार वास्तवमा लाइटर हो । जुन पछिल्लो समय विभिन्न अनलाइन स्टोरमा बिक्रीका लागि राखिएको पाइन्छ । ‘गन लाइटर’ देखाएर समाजमा अशान्ति फैलाएको, सुरक्षामा खलल पुर्याएको अभियोगमा सर्वसाधारणलाई पक्राउ गरेर मुद्दा चलाउँदा पहुँचवालाको हकमा प्रहरी प्रशासन किन लाचार ? प्रश्न उब्जिएको छ । 

सो घटनाको एक सातापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो । फेसबुकबाट हतियार प्रदर्शन गरेको अभियोगमा प्रहरीले सोही गाउँपालिका–३, असरैनाका २१ वर्षीय दुर्गेश यादव र वडा नम्बर ४ का २५ वर्षीय अनिलकुमार कहारलाई पक्राउ गरेको हो । उनीहरुले कम्मरमा पेस्तोल बाँधेको तस्बिर र भिडियो सार्वजनिक गरेका थिए । 

तरबारको प्रयोग गरेर केक काट्ने सात जना केही समयअगाडि पक्राउ परेका थिए । जसमा रोमन मगर, सुमन पराजुली, मनोहर थापामगर, रोनिस बरामु, रोशन तामाङ्ग, गोपाल मोक्तान र गुणबहादुर गुरुङ्ग हुन् । तरबारले केक काटेर उनीहरुले समाजमा त्रास र अराजकता फैलाएका थिए । त्यसअघि पनि त्यस्ता थुप्रै भिडियो सार्वजनिक भइसकेका छन् । 

उनीहरुलाई गिरफ्तार गरेर प्रहरीले मुद्दा चलाएको थियो । हतियार देखाएर अराजकता फैलाएको भन्दै सर्वसाधारण जेल पुग्दा नेतालाई किन छुट ? पहुँच हेरेर कारबाही गर्दा नियामक निकायप्रति जनताको अविश्वास बढ्दै गएको छ । मुलुकी फौजदारी संहिता, २०७४ को परिच्छेद २ मा सार्वजनिक शान्ति खलल गर्न नहुने उल्लेख छ । 

कसैले सार्वजनिक शान्ति खलल पारेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, नेताहरुले खुलेआम हतियार देखाएर समाजमा आतंक फैलाउँदा उनीहरुमाथि कारबाही हुन सकेको छैन । आफ्नो रवाफ देखाउनका लागि नेताहरुले हतियार प्रदर्शनी गर्न थालेको जानकार बताउँछन् । शक्ति प्रदर्शन गर्ने र समाजलाई त्रसित बनाउने मानसिकताका कारण हतियारको दुरुपयोग बढेको उनीहरुको जिकिर छ । 

स्पष्ट कानुन आवश्यक : पूर्वडिआईजी मल्ल

पूर्वडिआईजी हेमन्त मल्ल व्यक्तिले तीन वटा उद्देश्यका लागि हतियार राख्ने बताउँछन् । शिकार, व्यक्तिगत सुरक्षा र सामाजिक प्रतिष्ठाका निम्ति हतियार लिने गरिएको उनको भनाइ छ । तर, कसैले पनि आफ्नो व्यक्तिगत प्रयोजनका लागि राखेको हतियारबाट आम नागरिकलाई असुरक्षित महशुस गराउन नहुने उनले बताए । 

‘हतियार राख्न पाइन्छ तर त्यो हतियारबाट कसैले असुरक्षित महसुशचाँहि नगरुन् भनि ख्याल गर्नुपर्छ’,उनले भने । पूर्वडिआईजी मल्लका अनुसार सरकारले हतियारसम्बन्धी स्पष्ट कानुन बनाउन आवश्यक छ । ठ्याक्कै हतियारजस्तो देखिने खेलौंनाको उत्पादन तथा बिक्रीमा रोक लगाउनुपर्नेमा उनले जोड दिए । 

भन्छन्,‘कतिपय मुलुकमा हतियारजस्तो देखिने खेलौंनाको उत्पादनमा बन्देज लगाइएको छ । यहाँपनि कानुन बनाएर कार्यान्वयन गर्न आवश्यक छ । खैलौंनाजस्तो देखिने हतियारमा रोक लगाएपछि यस्ता घटनामा धेरै कमी आउँछ । आफ्नो सुरक्षाका लागि हतियार राखेको हुन्छ, मान्छेहरुले देख्नेबित्तिकै होहल्ला गरिदिन्छन् । केही नगरेको भएपनि त्यसले हतियार राख्ने व्यक्ति विवादमा तानिन्छन् ।’

लाइसेन्सप्राप्त हतियारबाट अपराध भएका घटना निकै न्यून भएको उनले जानकारी दिए ।

टिप्पणीहरू