वडाध्यक्षमाथि सार्वजनिक सम्पति हिनामिनाको आरोप
काभ्रेपलाञ्चोकमा सार्वजनिक सम्पति बेचेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असोजमा आएको बाढीले कटुन्जेवेशी र कालिन्चोक जोड्ने झोलुङ्गे पुल बगाएको थियो । गएराति उक्त पुलको सामान (फलाम) कवाडीले धमाधम दुई वटा ट्रकमा लोड गरिरहेको देखेपछि स्थानीयले प्रहरी र गाउँपालिका अध्यक्ष दिनेश लामालाई खबर गरेको बताइन्छ । लगत्तै प्रहरीले खोलामा पुगेर ट्रक र कवाड व्यवसायीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार कवाड व्यवसायीहरुले वडाध्यक्षले पैसा बुझिसकेको बताएपछि गौतमलाई पनि पक्राउ गरिएको हो । ‘हामीले उनीहरुलाई समातेर सोधपुछ गर्दा वडाध्यक्षले बेचेको हो, पैसा पनि लिइसकेको छ भन्ने कुरा सुनाए’, डिएसपी घलेले जनआस्थासँग भने, ‘राज्यको सम्पति वडाध्यक्षले नै बेचेको भनेपछि हामीले उहाँलाई पनि समातेका हौँ, आज म्याद थपेर अनुसन्धान अघि बढाउँदैछौँ ।’
वडाध्यक्ष गौतमले कवडा व्यवसायीबाट कति पैसा लिए भन्नेबारे चाहीँ यकिन भइसकेको छैन । ‘उनीहरु (कवाड व्यवसायी)ले भनेको रकम र वडाध्यक्षले भनेको रकमको तालमेल मिलेको छैन, अब अनुसन्धान सकिएपछि मात्रै कति पैसामा पुलको समान बेचिएको हो, त्यो थाहा हुन्छ’, डिएसपी घलेले थपे ।
उता गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधिबाट राज्यको सम्पति बेचिनु दुःखद भएको बताए । हाल आफू कामको सिलसिलामा हेटौँडा पुगेको र गएराति स्थानीयले फोन गरेपछि घटनाबारे जानकारी पाएको उनको भनाइ छ । ‘वडाध्यक्ष भनेको आफैंमा जिम्मेवार जनप्रतिनिधि हो, त्यो पुल खोलाले बगाएपछि उहाँले बरु सामान सुरक्षित राखेर पुनःनिर्माणको लागि पहल गर्नुपर्नेमा उल्टै सामान बेचेको सुन्दा दुःख लाग्यो’, उनले भने ।
टिप्पणीहरू