काँग्रेसीहरुको रडाकोमा खुँडा, खुकुरी प्रहार

काँग्रेसीहरुको रडाकोमा खुँडा, खुकुरी प्रहार

नेपाली काँग्रेस लमजुङका पहिलेका सभापति भेषबहादुर पौडेल र अहिलेका सभापति डा. टकराज गुरुङ दुबै गण्डकी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री र आर्थिक मामिलामन्त्री छन । काँग्रेस लमजुङका युवा नेताका रुपमा कडा प्रतिस्पर्धी पनि । यी दुईको कटुता कतिसम्म देखिन्छ भने एक अर्काबीच बोलचाल त परै जावस् सकेसम्म एउटै मञ्च सेयरिङ नहोस् भन्ने चाहन्छन् ।  

उनै दुईकै कारण हिजो सम्पन्न हुने भनिएको तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशन काटमारमा परिणत भएपछि १० गतेसम्मको लागि स्थगित गरिएको छ । कुनै समय पौडेल गुटको एकछत्र राज रहेको लमजुङ काँग्रेसमा अहिले गुरुङ गुटको बर्चस्व देखिन थालेको छ । पूर्व जिविस तथा काँग्रेस लमजुङका सभापति शंकरकान्त जोशीको टेकोमा राजनीतिमा जबर्जस्त उदाएका पौडेल मान्छेहरुलाई खासै बिझाइहाल्ने, छुद्र नेतामा पर्दैनन् । 

जिल्लामा बाउको राजनीतिक विरासतलाई थाम्न जोशीहरुको वैशाखीले तरुण दल लमजुङको अध्यक्ष, उद्योग वाणिज्य संघ अध्यक्ष हुँदै अहिले प्रदेशसभा सदस्य र वनमन्त्री भेषबहादुर भद्र नेतामै गनिन्छन् । पार्टी सभापतिमा पनि पौडेल र गुरुङ कै टकराव देखिन्छ । 

१३औं जिल्ला अधिवेशनमा थोरै मतले पौडेलँग पार्टी सभापतिमा पराजित भएपनि १४औं अधिवेशनमा भने गुरुङ राम्रै मतले सभापतिमा विजयी भए । बीचमा मस्र्याङ्दी रहेकाले उनीहरुमध्ये एउटा पारि र एउटा वारिका हुन् । गुटपनि त्यसैगरि मौलायो । चुनावमा मात्रै गुटको गन्ध छर्पस्ट हुने काङ्ग्रेसी रडाको हिजो खुँडा खुकुरी प्रहारमै परिणत भयो ।

प्रमुख अतिथि थिए तरुण दलका पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य जीतजंग बस्नेत । विशेष अतिथि तरुण दलकै केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, पार्टी जिल्ला सभापति, निवर्तमान सभापतिसहित दर्जनौं नेताको उपस्थिति थियो । कुल ८८ पदका लागि तीन सय ५४ जना जिल्ला प्रतिनिधि भेला भएका थिए । 

बेसीशहर–८, प्रशासन चोक नजिकैको प्रगतिटोल तमु आमा समाजको भवनमा कार्यक्रम शुरु हुँदै गर्दा पौडेल समूहका केही युवाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै कार्यक्रममा अवरोध उत्पन्न गरेपछि स्थिति असामान्य बन्यो । मञ्चमा रहेका कसैले ठोक् ठोक् भन्ने आदेश दिए । कोही उद्घाटनमा प्रयोग गरिएको पित्तलको पानस उठाएर प्रहार गर्न खोज्दै थिए । 

यत्तिकैमा बाहिर गेटमा रहेका गुरुङ गुटका युवाहरुले खुकुरी निकालेर छप्काउन थालेको बेनपा–३ का वडा सदस्यसमेत रहेका कृष्ण भुजेलले बताए । उता यसरी हान्न उक्साउने पार्टी जिल्ला सचिव कृष्णबहादुर अधिकारी र सुरेश पाण्डे रहेको पार्टी जिल्ला समिति सदस्य समेत रहेका घाइते किशोर बस्नेतको दाबी छ । 

सवा २ बजेतिर एक्कासी पौडेल गुटका भनिनेमाथि खुकुरी प्रहार हुन थालेपछि स्थिति असामान्य बन्यो । नेताहरु समेत असुरक्षित महशुस गर्दै भाग्न थाले । प्रहरीले हतियार नियन्त्रणमा लिएर स्थिति साम्य पारेपनि आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेन । खुकुरी प्रहारबाट बेनपा–९ का अध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुशीजंग गुरुङ गम्भीर घाइते भए । उनी तरुण दल जिल्ला सभापतिको दाबेदार समेत हुन् । 

अर्का बेनपा–८ मा रहेको भूपू बोर्डिङ स्कुलमा अध्यापन गराउने नेविसंघका केन्द्रीय सदस्य सुदिप अधिकारी रक्ताम्य भए । उनको घाँटी र हातमा प्रहार गरिएको थियो । प्रदेश अस्पताल लमजुङमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुदिप र खुसीजंगलाई चितवन रिफर गरियो ।

प्रहरीको आँखै अगाडि घटना भएपनि कसैलाई पक्राउ नगरेपछि सुनपा–४ दुराडाँडा कि ४८ वर्षीय इन्दु अधिकारीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन । उनले वर्ष २८ का घाइते सुदिप अधिकारी आफ्नो सहोदर दिदीको छोरो भएको र उ लगायत बेनपा–९ का खुशीजंग गुरुङ, बेनपा–७ का सन्तोष भनिने किशोर बस्ने, सुनपा–७ शंकर सापकोटामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भनिएको छ ।

मध्यनेपाल नपा–७ का ३८ वर्षीय धनबहादुर तामाङ, मस्र्याङ्दी गाप–५ का भुपेश गुरुङ र राइनास नपा–६ का गणेश गुरुङविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा प्रहरीमा इन्दुले किटानी जाहेरी दिएकी हुन् । मुलुकी अपराध सहिता २०७४ को १७७ अनुसार हदैसम्मको कार्वाहीको माग राख्दै घटनाकै दिन जाहेरी दर्खास्त दिएपनि प्रहरीमा उजुरी दर्ता नभएको र गृहमन्त्रीबाट नै अहिले उजुरी दर्ता नगर्नू भन्ने आदेश भएकाले दर्ता नभएको प्रहरी स्रोतले जनआस्थालाई जानकारी दिएको छ । आरोपित भुपेश गुरुङ तरुण दल लमजुङका कार्यवाहक अध्यक्ष हुन् । 

कुनै बेला कास्कीमा गुण्डागर्दीको राम्रै धन्दा चलाएका तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ विदेशिएसँगै भुपेशलाई कार्यवाहक सुम्पेका थिए । उनी पाँचौं जिल्ला अधिवेशनमा अध्यक्षको आकांक्षी थिए । पार्टी सभापति टकराज उनै भुपेनलाई अध्यक्ष बनाउने सोचमा थिए । जसका कारण अधिवेशन रणभूमिमा परिणतसँगै स्थगित भयो । 

अञ्जनकुमार ।

टिप्पणीहरू