एक्स्पायर्ड आइरन चक्की कसले खाने ?

गर्भवती र सुत्केरी महिलालाई खुवाउन भनेर किनिएका आइरन चक्की प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा थन्किएका छन् । ती अत्यावश्यक चक्कीको मिति गुज्रिसकेको छ । अब गर्भवती महिलाले खान मिल्दैन ।
स्वास्थ्य सेवा विभाग स्रोतले जनाएअनुसार गएको वैशाख १८ गतेदेखि नै चक्कीको मिति सकिएको छ । डेट सकिने म्याद अंग्रेजीमा ३० अप्रिल २०२५ लेखिएको छ । २०२२ सेप्टेम्बर ३० मा टेण्डरमार्फत २० करोड मूल्यको आइरन चक्की किनिएको थियो । त्यतिबेला एक वर्षभित्रै प्रयोग गर्न मिल्नेगरी चक्की खरिद गरिएको हो । सरकारले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत स्वास्थ्य संस्थाहरूमा चक्की पठायो । तर, प्रदेशमा पनि ती चक्की यत्तिकै थन्किएका छन् ।
विभागले एकै पटक ठूलो परिमाणमा चक्की किन खरिद गर्यो भनेर यतिबेला गम्भीर प्रश्न उठेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले प्रदेशको समेत बजेट तानतुन पारेर आइरन चक्की खरिद गरेको थियो । गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि सुत्केरी भएको ४२ दिनसम्म निःशुल्क आइरन चक्की खुवाउने अभियान नै छ । अब म्याद सकिएको चक्की प्रयोग गर्न नमिल्ने भएपछि फेरि खरिद गर्नुपर्ने बाध्यता छ ।
छोटो अवधिको म्याद भएका चक्की ठूलो मात्रामा पठाइए पनि गर्भवती र सुत्केरी महिलालाई दिन नसकिने अवस्था छ । यतिबेला प्रदेशअन्तर्गतका विभिन्न अस्पतालबाट आइरन चक्कीको माग बढ्दो छ । तर, चक्की स्टोरमा खचाखच भए पनि पठाउन सकिने अवस्था छैन । जिल्ला–जिल्लामा आइरन चक्कीको हाहाकार हुँदै छ । मिति सकिएका कारण एकातिर बजेटको ठूलो नोक्सानी भएको छ भने अर्कातिर सुत्केरी र गर्भवतीलाई खुवाउन अत्यावश्यक हुँदा तत्कालका लागि नकिनी नहुने अवस्था छ ।
यो नोक्सानीको जिम्मेवारी लिन भने कोही तयार छैन । अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले समेत अनदेखा गरेको अवस्था छ । यता, २० करोडको हिसाव मिलान नहुँदै प्रदेशहरूले आइरन चक्की खरिदका लागि भन्दै केन्द्रसँग धमाधम बजेट मागिरहेका छन्् ।
टिप्पणीहरू