कांग्रेसका मन्त्रीहरूलाई कुट्ने कुरा

कांग्रेसका मन्त्रीहरूलाई कुट्ने कुरा

कहिले कसको पालो, कहिले कसको पालो भनेझैं नेपाली कांग्रेसको संसदीय दलमा पालो फेर्ने काम भएको छ । ‘हाम्रा पदाधिकारी जे पायो त्यही बोल्दै हिँड्छन् । आफै उच्चस्तरीय संयन्त्रमा बस्छन् अनि मन्त्रीहरू आफैं फलानोलाई हटाउनु हुन्छ, फलानोलाई हटाउनु हुँदैन (विद्युत् प्राधिकरणको कुलमान घिसिङ प्रकरण) भन्दै दोहोलो काढ्छन् । अरुको कुरा गर्छन् । हामी पनि मन्त्रालयमैं बसेका हौं, देखाइदिऊँ तपाईंहरू मन्त्री हुँदा के गर्नुभएको थियो ? बढी हुने ?’ भन्दै महामन्त्री थापाविरुद्ध केन्द्रीय सदस्य मोहन बस्नेत चर्किएको घटनालाई पालोको पैंचो तिरेको प्रकरणका रूपमा लिइएको छ ।

गत शनिबार सम्पन्न संसदीय दल बैठकको शुरुवातमै गगन थापालाई पूर्व सञ्चार मन्त्री मोहन बस्नेतले सातो टिप्ने गरी यस्तो शब्दवाण प्रहार गरेका थिए । बस्नेतले बोल्दै गर्दा महामन्त्री थापा केही बोलेनन् । केही महिनाअघि टेरामक्स प्रकरणमा थापाले मन्त्रीहरु झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जान्छन् भनी बस्नेतको तेजोवध गरेका थिए । त्यसको बदला कुलमान घिसिङ प्रकरणलाई अगाडि सारेर लिइएको बताइन्छ ।

झाँको झार्ने क्रममा ‘हाम्रै कारण राष्ट्रपतिले छोडेको तनहुँ हारेको र गगन थापाले जितेको काठमाडौं ४ गरी दुई सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग तालमेल भएको कुरा उठेको छ, त्यसको छानबिन हुनुपर्छ कि पर्दैन ? कसैमाथि अनुसन्धान हुने, कसैमाथि नहुने ?’ भन्दै बैठकमा राँक्किएका बस्नेत पहिलो वक्ता थिए । त्यसपछि बैठकको माहोल तात्तिन थाल्यो ।

दोस्रो वक्ताका रूपमा अघि सरेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले भने, ‘आज हामी धेरै नबोलौं, मन्त्रीहरूले बोलुन् । तपाईंहरूले के के काम गर्नुभयो ? भोलि कस्तो बजेट ल्याउनु हुन्छ ? हामी सुन्न चाहन्छौं ।’ उनले गठबन्धन सरकारको औचित्यलाई प्रमाणित गर्न खोज्दै थपे– ‘दिनैपिच्छे गठबन्धन परिवर्तनको कुरा नगरौं । दुइटा पार्टी मिल्दा पनि केही गर्न सकेनौं भन्ने सन्देश गयो भने गणतन्त्रविरोधीलाई फाइदा हुन्छ । के अहिले राप्रपासँग मिलेर सरकार गठन हुन सक्छ ? अथवा माधवकुमार नेपालसँग मिलेर सरकार बन्नसक्छ ? कोसँग मिलेर सरकार बनाउने ? भोलि फेरि शपथग्रहण गरेकै दिन मन्त्रीहरू आज जाने कि भोलि जाने भन्ने क्रम शुरु हुन्छ । त्यसैले गठबन्धन यही कायम राखौं तर मन्त्रीहरूले स्पिड बढाऔं । आज मन्त्रीहरूलाई बोल्न दिऊँ ।’ खतिवडाले बोल्ने क्रममा ‘कतिपय योजना माननीयका हुन् भन्ने गलत सोच हुर्काएका छन्, ती सबै योजना जनताका हुन् । यो कुरा मन्त्रीहरूले बुझ्नुपर्‍यो । तपाईंहरूले जितेर मात्रै मन्त्री भएको होइन, सबैले जितेरै आएका हुन् । यो कुरा हेक्का राखियोस्’ भनेका थिए । 

तेस्रो वक्ता ज्ञानेन्द्र कार्कीले ‘मन्त्रीहरूले अलिक विचार पुर्‍याएर काम गर्नुपर्‍यो । तपाईंहरू पनि माननीय भएपछि हामीतिरै बस्नुपर्छ । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट नहाल्नुस् ।’ भन्दै गुनासो पोखे । बीचैमा उठेर खतिवडाले प्वाक्क थपे, ‘मन्त्रीका क्षेत्रमा मात्रै बजेट बढी पर्‍यो र हाम्रो क्षेत्रमा परेन भने बजेट किताब च्यात्ने काम हुन्छ । कुटाकुट पनि हुन सक्छ ।’ सांसदहरूको कुरा सुनिरहेका मन्त्रीहरू भने रातापिरा हुन थालेका थिए ।

चौथो वक्ताको रूपमा झापाकी सरिता प्रसाईंले ‘के जितेकाले मात्रै बजेट लाने ? हामीले चाहिँ लान नपाउने ? झापामा एमालेले चार सिट जितेको छ । उसले मात्रै त्यहाँ पैसा लाने ? झापामा कांग्रेसले एक सिट मात्रै जितेको छ । कृष्ण सिटौलाले के गर्ने ? राजेन्द्र लिङ्देनले सिटौलालाई हराको हरायै छ अनि के हालत हुन्छ ?’ भन्नासाथ गर्माएको बैठकको माहोल अलिक गम्भीर बन्न पुग्यो ।

सो दिनको बैठकमा पाँचाैँ वक्ताका रूपमा अघि सरेका बीरबहादुर बलायरले ‘गठबन्धन यही कायम हुनुपर्छ, यताउती कुरा हुनुहुँदैन । मन्त्रीबाट हटेपछि बाहिर गएर जे पायो त्यही बोल्नुभएन’ भन्दै कान्छाराम तामाङको अभिव्यक्तिप्रति असन्तुष्टि जाहेर गरे । कान्छारामलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएको हो कि पार्टीले हटाएको हो ? ओलीले हटाएको भए त अर्को मान्छे मन्त्री हुन जाँदैनथ्यो,’ उनले भने । 

छैटौँ वक्ताका रूपमा डिकबहादुर लिम्बूले अब गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्रै गर्न बाँकी छ । त्यो पनि गरौँ अनि पार्टी सकिन्छ भन्दै व्यंग्य कस्न भ्याएका थिए । सबैको राय सुनेपछि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले जे भए तापनि सरकार र गठबन्धनको पक्षमा बोल्नुस् जे पायो त्यही नबोल्नोस् भनेका थिए । 

बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको कारण पनि माननीयले बुझ्न चाहे । तर, त्यसको जवाफ कसैले दिएनन् । बैठकमा माननीय कल्पना चौधरीले ‘हामी समानुपातिक सांसदहरूलाई पनि विकास बजेट चाहियो– हाम्रो पनि विकास निर्माणमा भूमिका हुनुपर्‍यो । कामकै कुरा गर्ने हो भने समानुपातिकबाट आएर आरजु देउवाले राम्रैसँग काम गर्नुभएको छ भन्दै प्रशंसा गरेकी थिइन् ।

टिप्पणीहरू