कामु गभर्नरलाई काँग्रेसीहरुले भिराए लाचारी, नैतिक र क्षमताहीनको बिल्ला

कामु गभर्नरलाई काँग्रेसीहरुले भिराए लाचारी, नैतिक र क्षमताहीनको बिल्ला

नेपाल राष्ट्र बैंकमा एक महिनादेखि कायम मुकायम गभर्नरको जिम्मामा रहेकी डेपुटी निलम ढुंगाना तिम्सिनामाथि काँग्रेस निकट कर्मचारीहरुले गम्भीर आरोप लगाएका छन् । कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि वित्तीय संस्था कर्मचारी संघले उनीमाथि लाचारी, नैतिक र क्षमताहीनको ट्याग भिराइदिएको छ । 

उक्त संस्थाका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बख्रेलले लामो समयसम्म गभर्नर नियुक्ति नभएको सन्दर्भमा कामु गभर्नरमाथि उक्त लाञ्छना लगाएका हुन् । संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन ऐन तथा नियमावली र बैंक कर्मचारी विनियमावली २०६८ को उल्लंघन गरेर तीन सातासम्म भट्टको राजीनामा स्वीकृत नगरेको संघको ठहर छ । 

सरकारलाई गभर्नर नियुक्तिमा राजनीतिक दाउपेच नगर्न सुझाव दिँदै काँग्रेसी कर्मचारीहरुले निलमप्रति आक्रोश पोख्दै लेखेका छन्, ‘आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महशुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको छ ।’

गभर्नर नियुक्ति विषय पेचिलो बन्दै गएको सन्दर्भम कामु गभर्नर र कर्मचारीहरुबीचको सम्बन्ध तिक्ततातर्फ उन्मुख भएको छ । काँग्रेसले भट्टलाई अघि सारेको अवस्थामा निलम स्वयम् आफू गभर्नर बन्ने दौडमा देखिन्छन् । तर, उनी स्वार्थ समूह र बिचौलिया दिपक भट्टको ‘प्लान बी’ अन्तर्गतको उम्मेदवार रहेको काँग्रेसीहरुको आरोप छ । 

उता, गभर्नरको सट्टा सिफारिस हुने तीनमध्ये एक जनामा मात्रै पर्न कोशिस गरिरहेका उनै निलमका नातेदार ज्ञानेन्द्र ढुंगानाको पक्षमा एकथरी काँग्रेस दौडिएका छन् । ज्ञानेन्द्रको सवालमा गभर्नर सिफारिस समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेल र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी पूर्ण रुपमा नकारात्मक रहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू