न्यायाधीशलाई कारबाही माग गर्नेविरुद्ध आदेशको तयारी
दलित अधिकारकर्मी खगेन्द्र सुनारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामाथि न्यायाधीशद्व सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाई भएको छ । उक्त मुद्दामा सुनुवाई भइसकेकाले आदेशको तयारी छ ।
प्रेमिका लिन रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विकसहित छ जनाको २०७७ जेठ १० गते सोतीमा सामूहिक हत्या भएको थियो । घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएपछि खगेन्द्र समूहले विरोध गर्दै आएको छ ।
प्रतिवादीहरुले उच्च अदालत सुर्खेतमा पुनरावेदन गरेकोमा गत वैशाख १५ गते न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासले जन्मकैदको सजायलाई सदर गर्दै उनीहरुलाई जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरिदिएको थियो । अदालतको फैसलाप्रति असन्तृष्टि जनाउँदै मृतकका परिवारसँगै सुनारले केही दिनयता काठमाडौंको माइतीघर मण्डलामा निरन्तर धर्ना दिँदै आएका छन् ।
सो क्रममा उनले हात र गोडामा नेल लगाउँदै ‘न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाही गर’ लेखिएको प्लेकार्ड बोकेपछि मुद्दा अदालत पुगेको हो । अदालत र फैसलाको अपमान गरेको भन्दै अधिवक्ता मनिषा गौतमले अस्ति सुनारविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
टिप्पणीहरू