शिक्षक आन्दोलन भड्काउन सडकमा नाचगान गरियो : बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले शिक्षक आन्दोलनलाई प्रभावित पार्न प्रतिपक्षीहरुले राजनीति गरेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति छिराएको प्रधानमन्त्री निकट उनको दाबी छ । शिक्षक आन्दोलनलाई पवित्र पेशागत हितभन्दा बाहिर लगेर राजनीतिक स्वार्थ पूर्तिको औजार बनाउने प्रयास भैरहेको बर्तौलाले जिकिर गरे ।
‘शिक्षकहरुसँग बन्दै गएको वार्ताको वातावरण वा निष्कर्षउन्मुख भएको अहिलेको विषयवस्तुलाई फेरि पनि संसदभित्र ल्याएर राजनीति गर्न खोज्ने जुन प्रयत्न उहाँहरु गर्न खोज्दै हुनुहुन्छ त्यसप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं’, उनले भने, ‘आज मात्र होइन हिजो पनि उहाँहरुले सडक नछोड्न अभिव्यक्ति दिनुभयो । शिक्षक साथिहरुलाई उत्तेजित र उत्प्रेरित गर्नुभयो । पवित्र पेशागत हितको लागि आयोजना गरिएको शिक्षक महासंघको आन्दोलनलाई प्रमुख प्रतिपक्षीले राजनीतिक रङ दिनको लागि कयौं पटक मेहेनत गर्यो ।’
सरकारलाई अप्ठेरोमा पार्न विपक्षीहरुले आन्दोलनमा गएर नाचगान गरेको र अहिले संसदमा पनि यही विषय ल्याएर भाँडन खोजेको बर्तौलाको आरोप छ । सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको र शिक्षण गतिविधि नियमित बनाउन सकारात्मक प्रयास भइरहेको उनको दाबी छ ।
शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचिमा नराखिएको भन्दै आज आपत्ति जनाएका थिए । त्यसप्रति सत्ताधारी दलका प्रमुख सचेतकको यस्तो प्रतिक्रिया आएको हो ।
टिप्पणीहरू