पत्रकारलाई ‘दलाल’ भनेको आरोपपछि सिडिओलाई आपत

पत्रकारलाई ‘दलाल’ भनेको आरोपपछि सिडिओलाई आपत

नेपाल पत्रकार महासंघले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई कारबाही गर्न माग गरेको छ । 

समाचारका लागि फोन गर्दा पत्रकारलाई दलाल भन्दै गालीगलौज गरेको घटनामा चासो व्यक्त गर्दै महासंघले विज्ञप्तिमार्फत सिडिओ धर्मराज जोशीमाथि छानविन गर्न र दोषी भए कानुनी दायरामा ल्याउन माग गरेको हो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तिमा उक्त कार्य अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख छ । 

महासंघका अनुसार मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्माले नागरिकताबाट वञ्चित एक पीडितको विषयमा जानकारी लिनका लागि सिडिओ जोशीलाई फोन गरेका थिए । तर, उनले ‘नागरिकताका लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्दै अपशब्द प्रयोग गरेको महासंघको दाबी छ । 

त्यसपछि बाँकेका प्रहरी प्रमुख उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले समेत पत्रकार विश्वकर्मालाई फोन गरेर केरकार गरेको बताइएको छ । यो घटनाको विरोधमा विज्ञप्ति निकाल्दै महासंघले पत्रकारलाई निर्धक्क र सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन सरोकारवाला निकायसँग माग गरेको छ । 

‘महासंघ प्रेसविरोधी यो घटनाको सत्यतथ्य छानबिन गरी यस्ता हर्कतमा संलग्न जोकोही भएपनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहोरिनतर्फ विरोध ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ’,विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू