शपथग्रहणमै रणसंग्राम

शपथग्रहणमै रणसंग्राम

म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियुका निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रम चल्दाचल्दै रडाको मच्चिएको छ । निकट पात्र समानुपातिक उम्मेदवार बन्न नपाएको झोंकमा सभापति संगम चोखाल क्षेत्रीले प्राध्यापकहरूलाई दुव्र्यवहार गरेका हुन् । कार्यक्रममा अनुपस्थित उनले आफूबिना शपथग्रहण गराइएको भन्दै क्याम्पसमा रमिता देखाएपछि चरित्रहत्याको बात निकालेका छन् ।

यस्तो छ नालीबेली

क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन भयो । सभापतिमा नेपाल विद्यार्थी संघबाट संगम निर्वाचित भए । निर्वाचित पदाधिकारीलाई चैत १८ गते शपथग्रहण गराउने तयारी थियो । तर, आफ्नो मान्छे समानुपातिक उम्मेदवार बन्न नपाउँदा आगो बनेका उनले त्यस दिन उपस्थित हुन नसक्ने बताए ।

क्याम्पसले चैत २१ गतेलाई कार्यक्रम सा¥यो । जुन कुरा उनलाई थाहा थियो । तर, उनी उक्त कार्यक्रममा पनि उपस्थित भएनन् । उपस्थित सबैले पटक–पटक कल गरे । कसैको पनि फोन उठाएनन् । र, शपथग्रहण सकिएपछि आएर खैलाबैला मच्चाए ।

‘नेविसंघमा दुइटा गुट छ । त्यसैले उनीहरूको संगठनभित्रै विवाद छ । संगमको भनाइचाहिँ आफ्नो मान्छेलाई समानुपातिक उम्मेदवार बनाउनुपर्ने हो । तर, अब त त्यो मिल्दै मिल्दैन । त्यसैले उनी शपथग्रहण कार्यक्रममा उपस्थित नै भएनन् । सबैले शपथ लिइसकेपछि टुप्लुक्क आइपुगेका उनले होहल्ला गरे । प्राध्यापकमाथि दुव्र्यवहार भयो’, स्रोतले भन्यो ।

यता, संगमले भने विज्ञप्ति जारी गरेर आफूले कसैमाथि दुव्र्यवहार नगरेको दाबी गरेका छन् । त्यसैगरी, उनले सिसिटिभी फुटेज चेक गर्न पनि चुनौती दिएका छन् ।

यता, निर्वाचन अधिकृत पशुपतिनाथ ढकालका अनुसार उनको कारणले दुईपटक शपथग्रहण कार्यक्रम स्थगित गर्नुपरेको थियो । उनी आफू शपथग्रहण नगर्ने र अरूलाई पनि गर्न नदिने मनशायमा रहेको ढकाल बताउँछन् । जानकारी गराउँदा गराउँदै नआएका संगमले होहल्ला गरेको उनको भनाइ छ । सो दिन पटकपटक फोन गर्दा एकपटक पनि रिसिभ नगरेको ढकालले जानकारी दिए ।

जनआस्थासँग भने, ‘उनले आन्तरिक विवाद सुल्झाउनु छ भनेपछि हामीले ठीकै छ भनेर समय दियौँ । चैत २१ गते सबै तयारी गरिसकेका थियौं । अन्य निर्वाचित पदाधिकारी आएका थिए । तिनलाई पनि उनी कहाँ गा’को ? भन्ने थाहा रहेनछ । कार्यक्रम सकिएपछि एक्कासी आएर होहल्ला गरे ।’

यता, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संगमलाई स्पष्ट रूपमा चैत २१ गते शपथग्रहण कार्यक्रम हुने जानकारी गराइएको बताए । सचिव, कोषाध्यक्षलगायत सबैले सोही दिन शपथग्रहण गरेको उल्लेख गर्दै उनले भने, ‘संगठनमा विवाद छ भन्दै समाधानका लागि दुई दिन मागे । मैले दुई दिनपछि गर्ने हो भनेकै थिएँ तर उनी आएनन् । उनले फोन नउठाएपछि हामीले शपथग्रहण गरेका हौं ।’

‘मबिना किन शपथग्रहण गरेको भनेर जंगिँदै आए । म बाहिर गएँ । त्यसैले उनी धेरै उग्र हुन पाएनन् । उनीहरूको इन्टरनल पोलिटिक्सबारे हामीलाई के थाहा हुन्छ ? हामीले टाइम दिएकै हौं’, उनले भने । यता, संगमसँग यस विषयमा जानकारी लिन खोज्दा फोन उठाएनन् ।

टिप्पणीहरू