राजधानीका सडकमा हजारौं सुरक्षाकर्मी परिचालन
राजावादीहरु र गणतन्त्रवादीहरुले एकै दिन, एकै समयमा विरोध प्रदर्शन गर्न लागेपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । दुर्गा प्रसाईं समूहले तीनकुने र माओवादी केन्द्रलगायत समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा बिहान ११ बजेपछि विरोध प्रदर्शन र सभा गर्न लागेकाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गणतन्त्रवादी र राजावादीहरुलाई सडकमा भेट हुन नदिने रणनीति अनुसार सशस्त्र प्रहरी बल नेपालले पाँच हजारबढी सुरक्षाकर्मी परिचालन गर्दै छ । सबैभन्दा धेरै रत्नपार्क, भद्रकाली, नयाँ बानेश्वर र तीनकुनेमा परिचालन हुँदैछन् ।
नेपाल प्रहरीले कम्तीमा १२ सय र राष्ट्रिय अनुसन्धान विभागले एक सयभन्दा बढी जनशक्ति सडकमा खटाएको छ । यी बाहेक सशस्त्र, नेपाल प्रहरी र अनुसन्धान विभागका नियमित रुपमा खटिने कर्मचारी पनि उपत्यका विभिन्न स्थानमा यथावत रहने बुझिएको छ । नेपाल प्रहरीले सादा पोशाकका प्रहरी पनि खटाउँदै छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीहरुलाई रिङरोडभन्दा भित्र प्रवेश गर्न नदिने रणनीति बनाएको छ । समाजवादी मोर्चाको प्रदर्शनलाई रिङरोडभित्र सीमित गर्ने प्रहरी प्रशासनको योजना छ । जसअनुसार आज राजधानीको भित्री भागमा ११ बजेपछि यातायात अवरुद्ध हुने आकलन छ ।
विशेषगरी रत्नपार्क, पुतलीसडक, भद्रकाली, सुन्धारा, न्युरोड, जमल, लैनचौर, सोह्रखुट्टे, बबरमहल, त्रिपुरेश्वर, चाबहिल, गौशाला, कुपण्डोल, मैतीदेवी, सिनामंगल, कोटेश्वरलगायत क्षेत्रमा यातायात अवरुद्ध हुने सम्भावना रहेको ट्राफिक प्रहरीले बताएको छ ।
टिप्पणीहरू