मापसे गरेर बटुवा किच्दै हिँड्ने चालक पक्राउ
मापसे गरेर सवारी साधनलाई ठक्कर दिँदै हिँड्ने स्कोर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा ६ च ७३१७ नम्बरको स्कोर्पियोसहित चालकलाई पक्राउ गरिएको हो ।
ती चालकले काठमाण्डौको चुच्चेपाटीबाट चाबहिलसम्म आइपुग्दा दुईटा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक (एसपी) दिपक गिरीले बताए । उनका अनुसार चालक बौद्ध प्रहरीको नियन्त्रणमा छन् ।
‘त्यस्तो ठूलो घटना त भएको होइन । चालक दुईटा मोटरसाइकललाई ठक्कर दिएर भागेछन् । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कसैलाई चोटपटक लागेको छैन’,उनले भने । यता, एक पैदलयात्रीले भने सो गाडीले अन्य धेरै गाडीलाई ठक्कर दिएको बताए ।
उनलाई सडकमै समातेर कुटपिट गर्न थालिएपछि त्यहाँ ठूलो भीड जम्मा भएको पैदलयात्रीको भनाइ छ । उनका अनुसार चालकलाई ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । आफ्नो खुट्टामा उभिन नसक्नेगरी उनले मापसे सेवन गरेको ती पैदलयात्री बताउँछन् ।
टिप्पणीहरू