हिजो चितवन पुगेका प्रचण्डको आज बारामा बास
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज साँझ बारा जाँदै हुनुहुन्छ । पार्टीले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानमा सामेल हुन उहाँ त्यता जान लाग्नुभएको हो ।
फागुन १२ देखि झापाको कचनकवलबाट शुरु भएको अभियान फागुन २५ गते महोत्तरी पुगेर रोकिएको थियो । भोलिदेखि सुचारु हुने अभियानको नेतृत्व गर्न प्रचण्डसहितका नेताहरु साँझ बारामा भेला हुँदैछन् ।
हिजो गृहजिल्ला चितवन पुग्नुभएका अध्यक्ष प्रचण्ड त्यताबाट सिधै बारा जाने कार्यक्रम रहेको माओवादीले जनाएको छ । हिजो दिउँसो प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित प्रतिरोध दिवसलाई सम्बोधन गरेर उहाँ चितवन जानुभएको थियो ।
साँझ रामपुरस्थित चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु निर्वाचनमा विजयी बनेका अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरुलाई भेटेर बधाई एंव शुभकामनासमेत दिनुभएको थियो ।
भोलि बिहानैदेखि बाराका स्थानीयसँग भेटघाट गर्दै विभिन्न स्थानमा आयोजना हुने सभामा माओवादी नेताहरु सहभागी हुनेछन् । त्यहाँबाट पर्सा र चितवनसम्म पुगेर पुनः काठमाडौँ फर्किने र चैत १५ गते समाजवादी मोर्चाले आयोजना गर्न लागेको बृहत जनासभाको तयारी जुट्ने बताइएको छ ।
त्यसपश्चात माओवादीको अभियान गण्डकी प्रदेशमा प्रवेश गर्ने प्रचण्ड सचिवालयका एक कर्मचारीले जानकारी दिए ।
टिप्पणीहरू