‘विद्यापति पुरस्कार’ का लागि आवेदन माग
कला संस्कृति र भाषा साहित्यको क्षेत्रमा प्रदान गरिने ‘विद्यापति पुरस्कार’ का लागि आवेदन खुलेको छ ।
विद्यापति पुरस्कार कोषले तोकिएका शर्त पुरा गरेर निवेदन दिन सूचना गरेको हो । कोषद्धारा आज जारी सूचनामा नेपाल विद्यापति मैथिली भाषा साहित्य, कला संस्कृति, अनुसन्धान, पाण्डुलिपि तथा अनुवाद विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
उक्त क्षेत्रमा योगदान पुर्याएका श्रष्टा तथा संघसंस्थालाई छुट्टाछुट्टै नदोहोरिने गरी यही चैत १२ गतेसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् परिसरस्थित कोषको कार्यालयमा निवेदन दिन भनिएको छ ।
‘नेपाल सरकारद्धारा स्थापित विद्यापति पुरस्कार कोषबाट विगतझै २०८० र २०८१ (दुई वर्ष) सालको नेपाल विद्यापति मैथिली भाषा साहित्य, कला संस्कृति, अनुसन्धान, पाण्डुलिपि तथा अनुवाद पुरस्कार प्रदान गर्ने कार्यक्रमअनुसार पुरस्कार घोषणा गर्नुपर्ने भएकोले उक्त विधाहरुमा योगदान दिएका श्रष्टाहरु तथा संघसंस्थाहरु छुट्टाछुट्टै नदोहोरिने गरी मिति २०८१–१२–१२ गतेसम्म निवेदन दिनुहुन सूचित गरिन्छ’, सूचनामा उल्लेख छ ।
नेपालको भूगोल र परिवेशमा रही मैथिली भाषासम्बद्ध विषय क्षेत्रमा योगदान दिएका गैर नेपालीले पनि निवेदन दिन सक्ने कोषले जनाएको छ । निवेदनका साथ व्यक्तिगत विवरण तथा सम्बन्धित विधामा पाएको, रचना गरेको प्रमाण, नागरिकताको प्रतिलिपि पनि पेश गर्नुपर्ने छ ।
टिप्पणीहरू