पूर्वराजा पक्षधर राणाजी भागेर भारततिर

पूर्वराजा पक्षधर राणाजी भागेर भारततिर
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा छिमेकी देशका नेताको फोटो देखाएर विवादमा परेका राप्रपाका पुराना नेता प्रदीपविक्रम राणा भागेर भारत पुगेका छन् । 

आइतबार पोखराबाट काठमाडौँ फर्किएका पूर्वराजाको समर्थनमा पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिलगायत विभिन्न समूहमा छरिएर रहेका राजतन्त्र समर्थक र हिन्दुवादीहरुले संयुक्तरुपमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का नेता योगी आदित्यनाथको फोटो अंकित ब्यानर देखाइएको थियो । 

पूर्वराजा शाहको जत्रै साइज र उस्तै आकार-प्रकारमा योगीको फोटो बनाएर र्यालीमा देखाउने व्यक्ति थिए, उनै राणा । भारतीय नेताको तस्वीर राखेर नेपालमा राजसंस्था पुनर्स्थापनाको माग राख्दै सडक प्रदर्शन गरिएकोप्रति चर्को विरोध भैरहँदा उनी सुटुक्क गोरखपुर पुगेका हुन् ।

'मैले भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरेको भनेर प्रहरी मेरो पछि लागेको छ । त्यही भएर भागेर भारत आउनुपर्‍यो', 

५८ वर्षीय राणा पुराना पञ्च हुन् । विगतमा राप्रपाको काठमाडौँ वडा नम्बर ७ कमिटी अध्यक्ष रहेका उनी डाक्टर प्रकाशचन्द्र लोहनीहको तर्फबाट कमल थापाविरुद्ध अध्यक्षमा भिडेका थिए । अहिले भने लिङ्गदेन र थापा नेतृत्वको दुबै राप्रपामा संगठित छैनन् । त्यसैले पूर्वराजा शाहकै हैसियतमा देखाउनेगरी योगीको फोटो प्रदर्शन गरिएको यो प्रकरणको दुबै राप्रपाले जिम्मा लिएका छैनन् । 

राणाले ज्यान जोगाउन देश छोड्नुपरेको उतैबाट बयान दिएका छन् । आइतबारको प्रदर्शनपछि प्रहरी आफ्नो पछि लागेको र नेपाल छाडेर भारतमा शरण लिनुपरेको उनको दावी छ । 

'मैले भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरेको भनेर प्रहरी मेरो पछि लागेको छ । त्यही भएर भागेर भारत आउनुपर्‍यो', नवभारत टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन् । 

वर्तमान सरकार नहटेसम्म नेपाल नफर्किने घोषणा गरेका राणाले योगी आदित्यनाथको खुलेर तारिफसमेत गरेका छन् । योगीलाई सर्वमान्य नेताको पगरी गुथाउँदै भनेका छन्', मलाई विश्वास छ कि योगीजी हिन्दू र हिन्दुत्वको लागि निरन्तर लडिरहनुभएको छ, उहाँ हामी सबैका विश्वव्यापी नेता हुनुहुन्छ । धार्मिक मान्यताअनुसार पनि म उहाँलाई असाध्यै मन पराउँछु ।'

नेपालमा राजतन्त्र फर्काउन र हिन्दू राष्ट्र बनाउन अन्तिम साससम्म लडाई जारी राख्ने बताएका राणाले कसैले उक्साएहटमा योगीको फोटो नदेखाएको भन्दै आफ्नो बचाऊ गरेका छन् ।

टिप्पणीहरू