कालोसूचीमा पर्ने ठेकेदारको संख्या थपियो

कालोसूचीमा पर्ने ठेकेदारको संख्या थपियो

समयमै काम सम्पन्न नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेको हो ।

गुल्मीको धुर्कोट गाउँपालिकाको सिफारिसमा तारालक्ष्मी निर्माण सेवा र ममता मञ्जु कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । त्यसैगरी, सनम निर्माण सेवा र निर्जरा निर्माण सेवा कालोसूचीमा परेको छ । संखुवासभाको सभापोखरी गाउँपालिकाले यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । 

डोटीको शिखर नगरपालिका–९ स्थित सीताराम माध्यमिक विद्यालयको सिफारिसले इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि कालोसूचीमा परेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ९ गण हेडक्वार्टरले जिएस निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सनललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । 

पुरातत्व विभागको सिफारिसमा तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । ती हुन्,राजेन्द्र निर्माण सेवा प्रालि, रफिना एण्ड कन्स्ट्रक्सन प्रालि र राम निर्माण कन्स्ट्रक्सन प्रालि । 

एकदेखि डेढ वर्षसम्म कालोसूचीमा परेका यी कम्पनीले सो अवधिभर कुनै ठेक्का प्रक्रियामा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

टिप्पणीहरू