पत्रकारको प्रवेश पास खोसिएको घटनामा मौन सभामुख प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध

पत्रकारको प्रवेश पास खोसिएको घटनामा मौन सभामुख प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध
सुन्नुहोस्

सरकारको छायाँ बनेर पत्रकारको प्रेस पास खोसेको आरोप लागिरहेका बेला सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । 

इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान)को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिवद्धता जाहेर गर्नुभएको हो । ‘प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम हुँदैन र हुनेछैन', संसद सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको तेस्रो दिन आज सभामुखले भन्नुभयो । 

पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने कानुन अस्वीकार्य हुने सभामुख घिमिरेले बताउनुभएको छ । संसदले कानुन बनाउँदा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसाथ गर्ने उहाँको प्रतिवद्धतासमेत छ । 

'सञ्चारसम्बन्धी कुनैपनि कानूनी व्यवस्था संविधानप्रदत्त प्रेस स्वतन्त्रताको मर्मविपरित जानु हुँदैन भन्नेमा हामी प्रष्ट छौँ', उहाँले जोड दिएर भन्नुभयो, 'संसद यस्ता कानून निर्माण गर्दा लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसाथ गर्नेकुरामा पूर्ण प्रतिवद्धता जाहेर गर्दछ ।'

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेकै आधारमा गत बुधबार संघीय संसद सचिवालयले दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको थियो । आफू मातहतको निकायले गरेको उक्त निर्णयको प्रतिपक्षी दल, नागरिक समाज र आम तहबाट विरोध भैरहँदा सभामुख घिमिरे भने प्रतिक्रियाविहीन हुनुहुन्छ ।

टिप्पणीहरू