बारको अध्यक्षमा रास्वपाबाट घिमिरे उम्मेदवार
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्वद्ध स्वतन्त्र कानुन व्यवसायी मञ्चले प्रस्तावित उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
मञ्चले बरिष्ठ अधिवक्ता डाक्टर नारायण प्रसाद घिमिरेको नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको हो । जसअनुसार उपाध्यक्षमा कोशी प्रदेशबाट बरिष्ठ अधिवक्ता रामप्रसाद खतिवडा, मधेशबाट समसुदिन हवारी, बागमतीबात रामचन्द्र देवकोटा, गण्डकीबाट लेखनाथ सापकोटा, लुम्बिनीबाट रामप्रसाद आचार्य, कर्णालीबाट गणेश केसी र सुदूरपश्चिमबाट पदमराज शर्मा उम्मेदवार छन् ।
मञ्चका अध्यक्षसमेत रहेका रास्वपा नेता यज्ञमणी न्यौपाने महासचिवमा आफैँ अघि सरेका छन् । कोषाध्यक्षमा अधिवक्ता हरिचन्द्र भट्टराई उम्मेदवार बनेका छन् । कार्य समिति सदस्यका लागि १४ जनाको नाम पनि तय भएको छ ।
नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । चुनावमा वामपन्थी तालमेलको प्रयास भैरहँदा माओवादी केन्द्र निकट आरपीएलएले पनि उम्मेदवार फाइनल गरिसकेको छ ।
वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा आरपिएलए प्रतिस्पर्धामा उत्रिन लागेको हो । बारको पूर्व महासचिवसमेत रहेका उनी पूर्व महान्यायाधिवक्ता हुन् ।
नेपाल बारमा एकछत्र प्रभाव जमाउँदै आएको नेपाली काँग्रेसको डिएलए र दोस्रो शक्ति मानिएको एमाले सम्वद्ध पिपिएलएले भने अहिलेसम्म उम्मेदवार चयन गरिसकेका छैनन् ।
टिप्पणीहरू