अमेरिकामै जब अरबौँ डलर तिराइयो

अमेरिकामै जब अरबौँ डलर तिराइयो

नेपाललाई यसै हल्लै हल्लाको देश भनिएको हैन । जवानी छउञ्जेल विदेशमा कुस्त कमाएको भ्रम छर्दै जीवनको अन्तिम घडी सोल्टी होटेलमा बिताएको सारा बील बबरमहल कर कार्यालयअगाडिको घर ६२ लाखमा बेची पत्नी नाना र ज्वाईं सैलेश बास्कोटाका साथीहरु दिपक, राजेशलाईसमेत थप झण्डै एक करोड तिर्न लगाएका रसेन्द्र भट्टराईबारे युवा पुस्तालाई कमै मात्र जानकारी होला । कान्तिपुर र काठमाडौं पोष्टद्वारा खर्बपतिको रुपमा ब्यानर न्युजमार्फत प्रस्तुत गरिएका उनै पात्र अन्ततः ०६२ जेठको एक दिन गुमनाम मृत्यु वरण गर्न बाध्य भएका थिए ।

त्यतिबेला स्पेन पुगेका तत्कालिन आइजिपी र मन्त्रीहरु उनको आफ्नो बोइङ्ग जेट विमान, थुप्रै बिलासी कारहरु र भव्य बङ्गलो देखेर चकित पर्ने गरेका थिए । धेरैले कल्पनै गरेनन् कि अमेरिका, बेलायत, फ्रान्स र स्पेनमा रातारात उनको यति धेरै वैभव छ भनी देखाइएको प्रकरण वास्तविकता थियो या छलकपटपूर्ण प्रचारबाजी ! रवि लामिछानेका सवा लाख डलरको मासिक कमाइ छाडी देश सेवा गर्न आएको गफ पत्याउने यही समाजमा कुनै बेला मीनासिंह खड्काले पनि उत्पातै होहल्ला मच्चाइन् ।

गेट कलेजकी अध्यक्ष खड्कालाई अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओबामाले फोन गरेको, हिलारी क्लिन्टनको चुनावी अभियानलाई सघाएको, ४० वर्षअघि हजारौं डलर कमाएको र हार्वर्ड एवम् युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट फरक फरक दुई विषयमा पिएचडी हासिल गरेको, मदर टेरेसासँग एक दशकसम्म निकट रहेको खबर पनि उनैले उत्पादन गर्न भ्याएकी थिइन् ।

तर, ती सबै प्रोपोगण्डा एकाध दिनमै पानीको फोकामा परिणत भए । केही वर्षदेखि भट्टराई र खड्कालाई बिर्साउने एक पात्र फेरि मिडियामा छाउन थालेका छन् जसको नाम हो–भुटानी शरणार्थीको हैसियतमा अमेरिका पुगेका डिल्ली अधिकारी, जसलाई गत महिना अमेरिकी अदालतले श्रमिकमाथि शोषण गरेबापत १५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । एनआरएनजस्तै सँस्था खोलेर संसारभरका नेपालीलाई एकगठ बनाउने ‘अभियान’ मा लागेका अधिकारीले इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका नाममा अशक्त र बृध्दहरुलाई घरैमा स्वास्थ्य सेवा उपलब्ध गराएबापत सरकारबाट प्राप्त भुक्तानी ओभरटाइम खटिएका कामदारहरुलाई नदिएको मुध्दामा अदालतले हालै उनलाई अरबौँ रकम तिर्नैपर्नै ठहर सुनाएको हो । 

अधिकारीलाई नजिकबाट चिन्ने बाल्टिमोरस्थित एकजना नेपाली कलाकार भन्छन्, ‘एउटा फाउण्डेशन बनाएका छन् । त्यहीमार्फत् वर्षेनी नेपाली र भुटानी युवायुवती जम्मा पारेर मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सका नाममा काठमाण्डौमा डान्सिङ र सिङ्गिङ्ग रियालिटी टिभी शो गराउँछन् । विजेतालाई एक करोड र २५ लाखका दरले पुरस्कार दिने भन्छन् तर भोटिङबाटै करोडौं उठाउँछन् । जबकि उनी हुण्डी कारोबारीको रुपमा पनि परिचित छन् ।’ रसेन्द्र भट्टराईका उनै नयाँ सँस्करणमाथि अमेरिकी श्रम कानुन उल्लंघन गरेको आरोपमा गत जनवरी ९ का दिन त्यहाँको एउटा अदालतले ४१ पृष्ठको आदेश सुनाएको छ । श्रम विभागले दायर गरेको मुद्दामा अधिकारी दोषी ठहर भएका हुन् ।

सन् २०१६ मा सोही फाउण्डेशनमार्फत् सञ्चालित बृद्धबृद्धाको हेरचाह संस्था ‘अमेरिकेयर’ मा भएको श्रम कानुन उल्लंघनमा उनीविरुद्ध फैसला आएको हो । अमेरिकाको मिचिगन, पेन्सिलभेनिया, कोलम्बस, क्लिभल्याण्ड, सिनसिनाटी र एक्रोनका बृद्धबृद्धालाई उनीहरुकै घरमा मेडिक उपचारबाहेकका अन्य सेवा उपलब्ध गराउन खटिएका कर्मचारी तथा सहयोगीलाई ओभरटाइम काम गराएर त्यसवापतको तलब नदिएपछि उक्त विवाद अमेरिकी श्रम विभाग हुँदै अदालतसम्म पुगेको थियो ।

ओहिओको दक्षिणी जिल्ला अदालतका न्यायाधीश एडमण्ड ए.सारगुस जुनियरको इजलासले अधिकारीलाई कर्मचारीको ओभरटाइमवापतको रकम ७४ लाख ७८ हजार ८२० डलर ७९ पेनीको दोब्बर १५ मिलियन डलर अर्थात नेपाली २ अर्ब ८ करोड रुपैयाँ तिर्न आदेश दिएको छ । अक्टोबर २०१९ देखि कोभिडको महामारीसमेत समेटिने गरी अप्रिल २०२४ सम्मको रकम भुक्तानीका लागि जनवरी ९ तारिखमा अदालतबाट उक्त आदेश आएको हो ।


 

टिप्पणीहरू