अध्यादेशमाथि उपेन्द्रको आक्रमक टिप्पणी
सरकारले देशलाई मरुभूमिकरण गर्न अध्यादेश ल्याएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् । जसपाकै कारण एक महिनादेखि संसदमा अलपत्र परेको भूमि अध्यादेशका सन्दर्भमा उनको यस्तो कठोर टिप्पणी आएको हो ।
काठमाडौंमा आज आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपेन्द्रले भने, 'देशलाई मरुभूमिकरण गर्ने कानून ल्याउने काम गरियो । विचित्रको चरित्र छ । र, यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन ।'
सुकुम्वासीका नाममा भूमाफिया, बिचौलिया र रियल स्टेटका मालिकहरुलाई पोस्नेगरी सरकारले अध्यादेश ल्याएको जिकिर उनको छ । यथास्थितिमा अध्यादेश पास भए सरकारी जमिन हडप्ने र बेचबिखन गर्ने धन्दा शुरु हुने उपेन्द्रले चिन्ता व्यक्त गरे ।
'सुकुम्वासीको नाममा भूमाफिया, विचौलियाहरु, रियल स्टेटहरुले सुकुम्वासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र त्यसलाई विक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ', उनले भने ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वन संरक्षणको लागि सहायता माग्दै आएकोमा अध्यादेशले कानूनको रुप लिए त्यस्तो सहायता रोकिने उल्लेख गर्दै उपेन्द्रले वन फडानी गरेर सुकुम्वासी व्यवस्थापन गर्न नहुनेमा जोडसमेत दिएका छन् ।
त्यस्तै, भूमिहीनको समस्या समाधान गर्नका लागि नभई भूमाफियामार्फत अनुचित लाभ लिने र देशलाई बर्बाद पार्ने उद्देश्यले सरकारले भूमि आयोग बनाएको उपेन्द्रको टिप्पणी छ ।
संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा सरकारले जारी गरेको योसहित छ वटा अध्यादेश संसदमा पुगेको त छ, तर राष्ट्रिय सभामा बहुमत नभएकाले निर्णयार्थ पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा ३ सिट रहेको जसपा विपक्षमा उभिएपछि अध्यादेश प्रकरणले सरकार अप्ठेरोमा परेको छ ।
टिप्पणीहरू