प्रधानमन्त्री पुनः आक्रोशित
सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि राख्दै आउनुभएका प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले सोही विषयमाथि आज फेरि आक्रोश पोख्नुभएको छ । सञ्चारमाध्यमले ‘तपाईं’ को सट्टा ‘तिमी’ भन्ने गरेकोमा उहाँले आपत्ति जनाउनु भएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले आक्रोशित हुँदै भन्नुभयो, ‘राष्ट्रपतिलाई भेट्दा हामी राष्ट्रपति कस्तो छ तिम्लाई भन्छौँ र ? भन्दैनौँ नि !, सम्माननीयज्यू हजुरलाई कस्तो छ भन्छौँ । तर, त्यहि भाषा छाप्न पर्यो भने सभ्यतापूर्वक बोले हुन्न ?’
नेपाली भाषा र सभ्यता अरुको भन्दा फरक रहेको उल्लेख गर्दै उहाँले मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘बालाई पनि तिमी, छोरालाई पनि तिमी, हजुरबालाई पनि तिमी, नातिलाई पनि तिमी, दाइलाई पनि तिमी, भाउजूलाई पनि तिमी, आमालाई पनि तिमी अंग्रेजीबाट सिकेर’, प्रधानमन्त्री भन्नुहुन्छ, ‘नेपाली भाषमा यस्तो तिमी तिमी हैन, आफूभन्दा सानालाई तिमी भनिएको हुन्छ, ठूलालाई तपाईं भनिन्छ । सार्है मान्न पर्यो भने हजुरसम्म भनिएको हुन्छ ।’
सञ्चारमाध्यमले ‘राष्ट्रपति रामचन्द्र पौडेलले यसो भने’ भनेर समाचार लेख्ने गरेकोमा चर्को असन्तुष्टि जनाउनुभएका ओलीले थप्नुभयो, ‘राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो भन्नुभयो भन्न सकिँदैन ? कति ठूलो पल्टिन पर्या होला ? राष्ट्रपतिले यसो भने, उपराष्ट्रपतिले यसो भने. .....’
त्यसो त, समाचारमा प्रयोग हुने तिमी सम्बोधनप्रति ओलीले असन्तुष्टि जनाउनु भएको यो नै पहिलोपटक भने होइन । यस सम्बन्धमा उहाँले बारम्बार विमती राख्दै आउनुभएको छ । अघिल्लोचोटि प्रधानमन्त्री भएका बेला सार्वजनिक कार्यक्रममै उहाँले अखबारमा आदरार्थी शब्द प्रयोग नगरिएकोमा आक्रोश जनाउनुभएको थियो ।
‘तपाईं भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अङग्रेजीमा ‘यू’ भनेपछि पुग्छ । बीबीसीले पहिले शुरु गर्र्यो । यसो भने, यसो भनिन्’, त्यसबेला ओलीले भन्नुभएको थियो, ‘हाम्रा हजुरबाले यसो भने, हजुरआमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । त्यही कपी गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’
त्यस्तै, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘तिमी’ सम्बोधन गरेको भन्दै ओली बेस्कन आक्रोशित हुनुभएको थियो । त्यसबेला कुनै सन्दर्भमा देउवाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गरिएकोमा ओली रिसाउनुभएको हो ।
टिप्पणीहरू