आफ्नै बोलीमा नअडिएपछि विवादमा बालेन
भन्ने एउटा, गर्ने अर्को ! नेपाली राजनीतिक प्रणालीमा परम्परादेखि चलिआएको चलन हो यो । पुराना नेताले झुठ्ठो बोलेर जनता झुक्काएको भनेर आलोचना गर्दै राजनीतिमा प्रवेश गरेका नयाँ अनुहारहरु पनि त्यहीँ बाटो हिँडेका छन् । यसको जल्दोबल्दो उदाहरण हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअघि उनले एउटा अन्तरवार्तामा काठमाडौंमा टेक्नोलोजीचाँहि टोकियो र आर्किटेक्चरचाँहि भक्तपुरको जस्तो बनाउने भनेका थिए । त्यसैगरी, उनले बाटोमा ईंट्टा बिच्छ्याउने प्रसंग पनि निकालेका थिए । तर, उनले आफ्नै बोलीविपरीत दरबारमार्ग क्षेत्रमा ग्रेनाइट हाल्न लगाएका छन् । दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिच्छ्याउन थालिएपछि बालेनको सो भिडियो एकाएक चर्चामा आएको छ ।
उनले भनेका छन्,‘तपाईंले यी कुरा नबुझिकन त्यत्तिकै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । मोर्डन देखिन्छ भनेर बबाल खालको टाइल लाइदिम् यहाँनेर मार्बल लाइदिम् भनेर भएन नि त ! मार्बल किन लाइँदैनभन्दा यो चिसो ठाउँ हो । यहाँ खुट्टा ठिहिर्याउँछ, तपाईं हिँड्नै सक्नुहुन्न । ईंट्टा त त्यति चिसो हुँदैन नि त ! ईंट्टामा तपाईं खाली खुट्टा नै हिँड्नुभयो भनेपनि त्यति चिसो हुँदैन । काठमाडौं भनेको चिसो ठाउँ हो नि त ! यहाँ प्लानिङ भएको सबै चिज साइन्टिफिक थियो । यहाँको पोखरी, मन्दिर, स्तुपा र चैत्यहरू सबै साइन्टिफिकल्ली यहाँनेर सबै मेन्टेन, टेक्नोलोजी र साइन्सको कुरा गर्नुहुन्छ भने यहाँ हाइ लेभलको प्रविधि र साइन्सलाई बुझेर कसैले यहाँ इन्जिनियरिङ गर्छ, आर्किटेक्चरको डिजाइन गर्छ भने यो सबै बुझेर गर्नुपर्यो ।’
त्योसँगै उनले भक्तपुरको वास्तुकलाको तारिफ पनि गरेका थिए । उनले झुठ बोलेको भन्दै चर्को विरोध भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्रले उनको भिडियो सेयर गर्दै ग्रेनाइट बिच्छ्याउनु कुनैपनि दृष्टिकोणबाट ठीक नभएको बताएका छन् । उनले लेखेका छन्,‘दरबारमार्गको फुटपाथमा ग्रेनाइटको प्रयोग प्राविधिक, नेवाः वास्तु कलात्मक, वातावरणीय र सुरक्षा, कुनैपनि दृष्टिकोणबाट ठीक छैन् । दरबारमार्गका व्यवसायीहरुले विचार गर्नुहोला !’
त्यस्तै, कतिपयले ग्रेनाइटको कारणले दुर्घटना बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बालेनले अपाङ्गता भएका व्यक्तिलाई नजरअन्दाज गरेको आरोप पनि लगाइएको छ । शिवराज सुन्दास भन्छन्,‘यो बाटो हिँड्यो भने खुट्टा भाँचिन्छ । पानी परेको बेला त चिप्लेर लड्छ बरु बुटा चित्र बनाउनुपर्छ नेवारी कला झल्किनेगरी ।’
विदेशी ग्रेनाइटभन्दा स्वदेशी सिलेट ढुंगा मौलिक भएको उल्लेख गर्दै तपन बराईलीले स्वेदशी वस्तुलाई इन्जिनियर मेयरले प्राथमिकतामा नराखेकोमा असन्तुष्टि पोखेका छन् । ‘कामपा दरबारमार्गमा राजस्थानको ग्रेनाइट (चिप्लेढुंगा) टल्काएछन्, किन मेयर बालेनज्यू ? हाम्रो स्वदेशी सिन्धुपाल्चोकको ढुंगामा के कमी छ ? महानगरलाई मौलिकता दिन्छौं भन्ने यिनै इन्जिनियर मेयर होइन् भन्या ? विदेशी ग्रेनाइटभन्दा स्वदेशी सिलेट ढुंगा मौलिक होइन् ? बलियो, नचिप्लिने र धेरै कम खर्चमा हुने, स्वदेशमा रोजगारी हुने, गाउँमा पैसा पुग्ने, धेरै हिसाबले सिलेट उपयुक्त छ होइन् र इन्जिनियर मेयरज्यू । सरकारको स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता भन्ने नीति महानगरलाई लाग्दैन् कि क्या हो ?’,उनले प्रश्न सोधेका छन् ।
दरबारमार्ग पर्यटकीय क्षेत्र हो । विभिन्न मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरु दरबारमार्ग पुग्छन् नै । सबैभन्दा धेरै पर्यटक पुग्ने ठाउँमा स्वदेशी सिलेट या ईंट्टा बिच्छ्याएको भए मौलिकता झल्किन्थ्यो । नेपालको कलाको विषयमा विदेशीले पनि जान्ने मौका पाउँथे । तर, उनले विदेशी ग्रेनाइटलाई प्राथमिकतामा राखेका हुन् । सो ग्रेनाइट हाल्दा करोडौं रुपैयाँ बाहिरिएको छ । हाल नारायणहिटी संग्रहालयअगाडि महानगर प्रहरी वृत्त, दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा धमाधम ग्रेनाइट बिच्छ्याउने काम भइरहेको छ ।
सदाशिव इन्फ्रा प्रालिलाई पाँच करोड १५ लाख रुपैयाँमा ग्रेनाइट राख्ने ठेक्का दिइएको हो । हेर्दै चिप्लो देखिने ग्रेनाइटका कारण दुर्घटना हुने जोखिम बढेको छ । त्यसमा चिप्लिएर धेरैले आफ्नो हातखुट्टा भाँच्ने अनुमान लगाइएको छ । यद्यपि, महानगरले सो ग्रेनाइट नचिप्लिने दाबी गरेको छ । यता, स्रोतले भने महानगरले विकास बजेट खर्च गर्न नसकेकाले मँहगो ग्रेनाइट हालिएको बतायो । ‘महानगरसँग पैसै पैसा छ । त्यो जसरी पनि सकाउनुपर्यो । त्यसैले मँहगो खालको ग्रेनाइट बिच्छ्याइएको हो । तर, सो ग्रेनाइट कुनैपनि दृष्टिकोणबाट उपयुक्त छैन् । जतिबेला पनि धुँवाधुलो हुने शहरमा ग्रेनाइट हाल्नुको औचित्य के ?’,स्रोतले भन्यो ।
भिडियाे श्राेत: सामाजिक सञ्जाल....
टिप्पणीहरू