रास्वपाका सांसदसँग सभामुख रुष्ट, एगोसेन्ट्रिजम गरेको ठहर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठ र सोविता गौतमले संसदमा बोल्न नदिएको भन्दै असन्तुष्टि जनाएकोप्रति सभामुख देवराज घिमिरेले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा नियमावली र कार्य व्यवस्था परामर्श समितिको निर्णय बमोजिम अघि बढ्दा सांसदद्वयले अनावश्यक प्रचार गराएको भन्दै सभामुखको सचिवालयले आपत्ति जनाएको हो । सचिवालयले सांसद श्रेष्ठ र गौतम आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने प्रवृति (एगोसेन्ट्रिजम)बाट ग्रसित भएको टिप्पणीसमेत गरेको छ ।
सभामुखले संसदमा बोल्न नदिइएको भनी उनीहरुले गलत प्रचार गराएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । सामाजिक सञ्जालमार्फत् आधिकारिक धारणा राख्दै उनले श्रेष्ठ र गौतमले संसदीय प्रक्रियाभन्दा बाहिर गएर सोसल मिडियाबाट ‘प्रेसर क्रिएट’ गर्न खोजेको दावीसमेत गरेका छन् ।
सांसद श्रेष्ठले हिजो प्रतिनिधि सभा बैठकमा आकस्मिक समय मागेकी थिइन् । तर, दलीय आधारमा रास्वपाका सांसद मनिष झा बोलिसकेको भन्दै सभामुखले समय दिएनन् । त्यस्तै, सांसद गौतमले माघ २८ गतेको बैठकमा आकस्मिक समय मागेकोमा सभामुख घिमिरेले पारित भइसकेको विधेयकमाथि बोल्नुको औचित्य नहुने भन्दै समय दिन अस्वीकार गरेका थिए ।
सोही विषयलाई लिएर श्रेष्ठ र गौतमले सभामुख घिमिरेमाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । तर, प्रेस सल्लाहकार अधिकारीले भने सभामुख घिमिरेले कानून र नियमावलीको व्यवस्था तथा दलीय समझदारीकै आधारमा सभा चलाइरहेको जानकारी गराएका हुन् ।
‘सभामुखसँग आकस्मिक समय माग्न बैठक शुरु हुनु आधा घण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन्, तीमध्ये सबैले समय पाउँदैनन्’, उनले भनेका छन्, ‘समय पाउने ८ देखि १० जनाले हो, आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक-पटक आवाज उठ्ने गरेको छ ।’
रास्वपा सांसद श्रेष्ठ र गौतमसँग अरुको दृष्टिकोण बुझ्ने क्षमताको अभाव रहेको पनि अधिकारीको जिकिर छ । ‘आफूलाई केन्द्रमा राखेर मात्र सोच्ने र अरूको दृष्टिकोणलाई नबुझ्ने, आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहारलाई एगोसेन्ट्रिजम भनिन्छ’, उनले थपेका छन् ।
टिप्पणीहरू