डेढ दशक अघिकै अवस्थामा पुर्याउने माओवादी दाबीसँगै तयारी

डेढ दशक अघिकै अवस्थामा पुर्याउने माओवादी दाबीसँगै तयारी
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रले पार्टीलाई २०६४ कै अवस्थामा फर्काउने संकल्प गर्दै तराई मधेश केन्द्रित जनजागरण अभियान सञ्चालन गर्न लागेको छ । फागुन १२ गते देशको सबैभन्दा होचो स्थान केचनाकवलको बनियाानीमा उक्त एक महिने अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । 

मुलुकको पूर्वी सीमाना नजिकैबाट शुरु भएर सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्म सञ्चालन हुने उक्त अभियानमा हजारौंलाई पार्टी प्रवेश गराउने योजना सफल बनाउने माओवादी दाबी छ । पार्टी २०६४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिटमा विजयी भएको थियो । तर, पहिलो संविधानसभाको विघटनपछि छिन्नभिन्न हुन थालेको क्रमशः कमजोर बन्दै गयो र २०७९ को निर्वाचनमा ३२ सिटमा खुम्चियो । हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जनजागरण अभियानले माओवादी पार्टीलाई पुन पहिलेकै अवस्थामा ल्याउने उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेलको दाबी छ । 

अभियानको तयारीबारे जानकारी दिन हिजो विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा इञ्चार्ज गुजरेलले २०६४ सालमा माओवादीलाई मत दिएका र उनीहरूका सन्तानलाई अभियानमा संगठितको प्रयास गर्ने बताए । उनले भने, ‘रुख चिन्हमा छाप हाल्ने अवस्थामा पुगेकै कारण माओवादी कमजोर बनेको हो । अहिले तपाईंहरुले पत्याउनु हुन्न होला । हेर्दै जानुहोस् माओवादीले २०८४ को निर्वाचनमा एक्लै लडेर पूर्वबाट लिड गर्छ ।’
 ,’  
अभियानमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका तीनवटै जिल्लामा  अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको केन्द्रीय टोली अभियानमा खटिनेछ । कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङका अनुसार  फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटनपछि अभियान बाह्रदशी र झापा गागाउँपालिकामा कार्यकर्ता र मतदाताहरुसँग भेटघाट, जनअन्तरक्रिया तथा सभा राखिएको छ ।

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चोक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभा गरिँदै छ  । यस्तै १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ । 

फागुन महिनाभर सञ्चालन हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ मा पार्टी कोशी प्रदेश समितिले अन्य पार्टीका ंपाँच हजारबढी कार्यकर्ता कोशीका तीन जिल्लामा मात्रै भित्र्याउने तयारी गरेको छ । जनजागरणमा ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ सञ्चालन गरिँदै छ । सो क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको सिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संगठित गर्ने योजना छ । त्यसैगरी किसानका समस्या समाधान गर्न र सहजीकरणका लागि पार्टी केन्द्रीय सदस्य र प्रदेश नेतृत्व तथा जनप्रतिनिधिहरुमार्फत् कृषि मल,बीऊ, प्रविधि, सिंचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाइने बताइएको छ ।
  

माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । फागुन ३ गते बसेको बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा भएको गोली प्रहारको घटनाबारे विरोध जनाएको छ । गत भदौ असोजको बाढी पहिरोबाट प्रभावितहरुलाई क्षतिपूर्ति दिन र भत्किएका संरचना निर्माण गर्न पनि माग गरिएको छ ।  

किसानलाई मल उपलब्ध गराउन, रड, सिमेन्ट आदि निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न, प्रदेश सरकारले प्रेस स्वातन्त्रतालाई कुण्ठित गर्ने मनसायलले ल्याएको आमसञ्चार विधेयकका प्रावधान खारेज गर्न, कृषि उपजको समर्थन मूल्य निर्धारण गर्न भनिएको छ । औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला बढाउन, अनौपचारिक क्षेत्रका मजदूरहरुको न्यूनतम ज्याला निर्धारण गर्न, तराईमा जंगली हात्तीको आतंक र पहाडमा बाँदर आतंक नियन्त्रण गर्न पनि माग गरिएको छ ।    

टिप्पणीहरू