सुटुक्क अफ्रिका पुगेकी एमाले सचेतक तीन सातापछि संसदमा

सुटुक्क अफ्रिका पुगेकी एमाले सचेतक तीन सातापछि संसदमा
सुन्नुहोस्

नेकपा (एमाले) की सांसद तथा सचेतक सुनिता बरालले नेपाल प्रहरीलाई एआई र साइबर अपराध नियन्त्रणसम्बन्धी तालिममा पोख्त बनाउनुपर्ने धारणा राखेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि आफ्नो धारणा राख्दै उनले सूचना प्रविधिको विकाससँगै प्रहरीमाथि चुनौती थपिएको बताइन् ।

राज्यलाई हरेक ढंगबाट सुरक्षाको प्रत्याभूति गराउने जिम्मेवारी प्रहरीको काँधमा भएकाले क्षमता अभिवृद्धिका तालिम अनिवार्य रहेको उल्लेख गरिन् । ‘तल्लो तहदेखि विशिष्ट श्रेणीसम्मका प्रहरीलाई एआई र साइबर अपराधको तालिम गराउनुपर्छ’, उनले भनिन्, ‘अहिलेका समस्या डिजिटल रुपमा आउन थालेका छन्, नयाँ प्रकृति समस्या समाधान गर्न पुरानो विधि र प्रणालीले सक्दैन ।’

एमाले संसदीय दलकी सचेतकसमेत रहेकी बरालले प्रहरीको सरुवा बढुवाको लागि कार्य सम्पादन तथा मुल्यांकनमा वैज्ञानिक विधि अवलम्बन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह पनि गरिन् । ‘कार्य सम्पादन तथा मूल्याङ्कनमा बढी तजबिज भयो भन्ने गुनासो छ, यसलाई थप व्यवस्थित र वैज्ञानिक विधिबाट हल गर्न म गृहमन्त्रीज्यूलाई अपील गर्छु’, उनले भनिन् । 

माघ १८ गतेदेखि शुरु हिउँदे अधिवेशनमा सांसद बराल आज पहिलोपल्ट उपस्थित भएकी हुन् । प्रमुख सचेतकलगायत नेताहरुले उनको अनुपस्थितिबारे अनभिज्ञता जनाए पनि बराल सुटुक्क अफ्रिका गएको तथ्य खुलेको थियो ।

टिप्पणीहरू