प्रधानमन्त्री पुग्नुअघि भेटघाटमा रोक

प्रधानमन्त्री पुग्नुअघि भेटघाटमा रोक
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ कीर्तिपुर अस्पताल पुग्नुभएको छ । उहाँ संसद बैठकमा सांसदरुको प्रश्नोत्तरमा सहभागी भएपछि त्यहाँ जानुभएको बताइन्छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन बिस्फोटपछि घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नुभएको हो ।

आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरेलगायतले त्यहाँ पुगेर उहाँहरूको स्वास्थ्यबारे जानकारी लिएपछि अस्पतालले संक्रमणको जोखिम बढेको भन्दै भेटघाटका कार्यक्रम बन्द गरेको थियो । तर प्रधानमन्त्री ओलीले सुरक्षा टोलीसहित त्यहाँ पुगेर पौडेल र आचार्यको स्वास्थ्यबारे जानकारी लिनुभएको हो । 

मध्यान्ह जारी विज्ञप्तिमा अस्पतालले उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिँदै लेखिएको छ, ‘माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हिजोदेखि सघन उपचार कक्षमा उपचारको लागि भर्ना हुनुभएकोमा रातभरि उहाँहरुको अवस्था सामान्य नै रहेको र हिजोभन्दा आज सुधारोन्मुख रहेको जानकारी गराइन्छ ।’

हाललाई अवस्था सामान्य भएपनि संक्रमणको डर बढेकाले भेटघाट अर्को सूचना जारी नभएसम्म पूर्ण रुपमा बन्द गरिएको उल्लेख छ । बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर जारी विज्ञप्तिको अनुरोध उच्च ओहोदाका पदाधिकारीहरुबाट पालना नभएपछि आलोचना भएको हो । हुन तः राजधानीका सडकमा ट्राफिक जाम हुँदा प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारी तथा मन्त्रीहरुको सवारी साधन सर्वसाधारसँगै लाइनमा बस्ने गरेको देखिँदैन । हेर्दा सामान्य लाग्ने यस्तो प्रवृत्तिले समाजमा कस्तो सन्देश गइरहेको छ भन्नेबारे कसले हेक्का राख्ने ?

टिप्पणीहरू